साथीसँग अष्ट्रेलिया जान छोडेर होटलमा रमेका रबिनको चिन्ता ‘यसरी विदेशिँदा ब्याचलर पढ्ने कलेज नै बन्द हुन लागिसक्यो’
ललितपुरस्थित कुपन्डोलमा रहेको ‘नेवाः फास्ट फुड कर्नर’मा हामी पुग्दा रविन श्रेष्ठ आफ्नै काममा व्यस्त थिए। उमेरले ३७ वर्ष पुगिसकेका रविनलाई झट्ट हेर्दा त्यस्तो देखिँदैनन्।
रविन बिहान आठ बजे होटल आउँछन्। शुरूमा सामान छ/छैन हेर्छन् र नभएको सामान लिन कुदिहाल्छन्। त्यसपछि भने पिठो मुछ्ने कामबाट उनको दैनिकी सुरू हुन्छ। दिउँसोको दुई बजेदेखि ४ बजेसम्म उनी निकै व्यस्त हुने रहेछन्।
‘दुई बजे खाजा खाने आउँछन्, यहाँ खसीको फोक्सो निकै फेमस छ। यताको अर्डर पाटनसम्म पुग्छ। अर्डर आएको खण्डमा म आफैँ पनि पुर्याउन जान्छु’, उनले भने।
होटलमा उनले एक जना स्टाफ पनि राखेका छन्। रविनकी श्रीमती भने बैंकमा जागिरे छिन्।
‘श्रीमतीको आफ्नै काम, मैले मात्रै नभ्याउने, त्यसैले एक जना बहिनी राखेको छु’, उनले भने।
रविनको परिवार नै होटल व्यवसायीमा लागेको कारणले गर्दा पनि उनलाई पनि यही पेसाले तानेको रहेछ। पारिवारिक व्यवसायी भएकैले रविन ११ वर्षको उमेरदेखि नै बुवालाई होटलको काममा सघाउँदा-सघाउँदै यही पेशा गर्ने विचार गरे।
‘पहिला बुवाले नै गर्नुहुन्थ्यो होटल। त्यही व्यापारलाई मैले गरेको चाहिँ १७ वर्ष भयो। ११ वर्षको उमेरदेखि नै घरमा होटल भएकोले मःम बनाउने, लगायतको काम बुवालाई सघाउँथे’, उनले सम्झिए।
०००
३५ हजारबाट व्यवसाय सुरू
रविनले पहिला बसन्तपुरमा होटल खोले। त्यसबेला बुवालाई भनेर ३५ हजारबाट सुरू गरेको आफैँले व्यापार थालेको उनी सम्झिन्छन्। त्यसपछि बसन्तपुरमा उनले स्टल राखेर मःम, चाउमिन बनाएर बेचे। १२ हजारमा स्टल किनेका रविनले पहिलेको र अहिलेको महंगीमा निकै फरक आएको बताए।
‘बसन्तपुरमा खोल्दा त्यो बेला सामान सस्तै थियो। १२ हजार स्टलको परेको थियो। अरू सामान गर्दा ३५ हजार पुगेको थियो’, उनले सुनाए।
सानैदेखि जागिर भन्दा पनि आफैँले केही व्यापार गर्नुपर्छ भन्ने मनस्थिति बनाएकाले पनि उनलाई अरू कामले आकर्षित गर्न सकेन। त्यसैले जागिर गर्दिनँ भन्दै व्यापारमै हात हाले उनले।
२० वर्षकै उमेरमा व्यापार थाल्ने कुरा सहज भने थिएन। रविनलाई पनि सुरुवाती दिनमा गाह्रो भएछ। त्यसो त उनले व्यापार पनि सहज समयमा गरेका थिएनन्। देश बन्द हडतालको चरम अवस्थामा पुग्दा सुरू गरेका उनलाई ग्यासकै चिन्ताले सताउने गर्थ्यो रे!
‘अहिले पो ग्यास पाउन थाल्यो, पहिला निकै गाह्रो थियो’, उनले भने।
बसन्तपुरमा पाँच वर्ष चलाएपछि उनी बालाजुतिर हानिए। सुरूवाती दिनमा बालाजुमा राम्रो व्यापार भए पनि पछि बिस्तारै माहोल बिग्रँदै गएपछि फेरि उनी कुपन्डोल आए र यतै १२ वर्ष बिताए।
व्यवसाय गर्ने क्रममा झेलेका कठिनाइहरू
बुवाले व्यवस्थापन गरेर चलाइरहेको होटल व्यापारबाट आफैँले चलाएपछि भने उनलाई सामान जुटाउनदेखि व्यवस्थापनसम्म आफैँले गर्नुपर्दा भने निकै गाह्रो भयो।
‘सामान त किनेर ल्याइयो यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने गाह्रो थियो। पछि त व्यावसायिक हिसाबले लागियो। जे होस् ठिक हुँदै गयो। बुवाले गरिरहेको व्यवस्थापनबाट आफैँले गर्दा गाह्रो भयो’, उनले सुनाए।
व्यवसाय गर्ने क्रममा थुप्रै कठिनाइ झेलेका छन् रविनले। कुपन्डोलमै पसल चलाइरहँदा असनमा पनि पसल होटल खोलेका थिए। तर, ठाउँ भनेअनुसार नभएपछि बन्द गरे।
‘असनमा पनि पसल थियो तर, पायक पर्ने ठाउँमा भइदिएन अनि व्यापार पनि राम्रो भएन। त्यसैले बन्द गर्नुपर्याे’, उनले सुनाए।
कुपन्डोल आएपछि रविनको व्यापार रफ्तारले चलिरहेको थियो। तर, कोभिड र आर्थिक मन्दी सुरू भएपछि पहिलेको तुलनामा व्यापारमा कमी आयो। तर पनि राम्रोसँग आफैँले खटेको अवस्थामा भने होटल व्यापार राम्रो हुने उनी बताउँछन्।
‘अहिले मन्दी भएर अलि कम भएको छ। तर, आफूले व्यापारलाई समय दिन सक्यो र खट्न सक्यो भने राम्रो छ। कोभिडको कारण अलि गाह्रो-गाह्रो चाहिँ भएको हो’, उनले अगाडि भने।
उनले आफूसँग आफ्नो भाइलाई पनि यही व्यापारमा लगाएका छन्। सुरुवाती दिनमा भाइलाई लगानी गरेका रविनले अब फेरि अर्थतन्त्र लयमा आएको खण्डमा पुन अर्काे पसल खोल्ने विचार गरेका छन्।
विदेश जान भनेर कन्सल्टेन्सी गएपछि
व्यवस्थापन विषयमा स्नातकसम्म पढेका रविनलाई देशमा आफूले केही गर्न सकिँदैन कि भन्ने भाव नआएको होइन। उनलाई पनि विदेशमा गएर राम्रो कमाउ भन्ने लागेको थियो। अनि साथीहरूसँग अष्ट्रेलिया जान भन्दै बुझ्न कन्सल्टेन्सी धाए पनि।
तर, केही समय घोत्लिएपछि विदेश नजाने सोच आएछ उनलाई। आफूले यतिधेरै दु:ख गरेर जमाएको व्यापार देशमा अल्पकालीन मन्दी आयो भन्दै विदेशिन नहुने विचारले उनले पूर्ण रुपमा विदेश जाने विचार त्यागिदिए।
‘व्यापारमा कहिलेकाहीँ मन्दी भएको बेला विदेश जाऊँ जस्तो सोचाइ आउँथ्यो,’ उनी भन्छन्, ‘व्यापारमा धैर्यता भन्ने कुरा राख्नुपर्छ। मैले राखेँ पनि। त्यसपछि अहिलेसम्म गाह्रो भएको छैन। पछि भयो भने देखा जाएगा।अलिकति गाह्रो भयो भनेर छोड्ने कुरा त भएन नि!’
पछिल्लो समय विदेशिने युवाको जमात देखेर रविन खिन्न हुन्छन्।
‘जम्मा १२ पास गरेका हुन्छन्। उता गएर के काम गर्छन्। यसरी विदेशिँदा ब्याचलर पढ्ने कलेज नै बन्द होला कि भन्ने डर छ’, उनी चिन्तिन सुनिए।
असोज १४, २०८१ सोमबार २०:४२:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।