‘नेपाल प्रिमियम लिगमा अनलाइन जुवा खेलाउने कम्पनी आबद्ध हुन्छन्’ भन्ने प्रश्नको उत्तर छैन क्यान सचिव पारससँग

‘नेपाल प्रिमियम लिगमा अनलाइन जुवा खेलाउने कम्पनी आबद्ध हुन्छन्’ भन्ने प्रश्नको उत्तर छैन क्यान सचिव पारससँग

काठमाडौँ : सर्वसाधारणले जुवा खेल्न प्रयोग गर्दा प्रहरीले पक्राउ गर्ने अनलाइन साइटहरू नै पछिल्लो समय क्रिकेट तथा फुटबल प्रतियोगितामा मिडिया कम्पनीको आवरणमा छिर्ने गरेका छन्। आइसिसीले खेल सम्बन्धी अनलाइन बेटिङलाई प्रतिबन्ध लगाएको छैन। अनलाइन बेटिङ खुल्ला भएको देशमा यो वैध भए पनि नेपालमा भने कुनै पनि प्रकारको जुवा प्रतिबन्धित छ।

त्यसैले अनलाइन जुवा प्रतिबन्धित भएका नेपालजस्ता देशमा यस्ता कम्पनी सिधै अनलाइन बेटिङको रूपमा नआई खेल सम्बन्धी समाचारमूलक पोर्टलको आवरणमा भित्रिने गरेका छन्। वानएक्सबेट मिडिया कम्पनी वानएक्सब्याटको आवरणमा आउने गरेको छ भने डाफाबेट पनि डाफान्युजको आवरणमा आउने गरेको छ।

उकेराले निरन्तर फलोअप गरेका कारण पछिल्लो समय नेपाली खेलमा वानएक्सब्याट प्रयोजक वा मिडिया पाट्नरमा देखिएको छैन। तर डाफान्युजको प्रभाव अझैँ देखिन्छ।

यस पटक नेपाल प्रिमियर लिग (एनपिएल) मा पनि सोहीक्रम दोहोरिने जोखिम उच्च छ। एनपिएलको कमर्सियल राइट्स ब्रान्ड लजिकले प्राप्त गरेको सन्दर्भमा क्यानका सचिव पारस खड्कासँग यसबारे जिज्ञासा राख्दा उनले प्रस्ट खुलाउन सकेनन्। उनी आइसिसीको नियम लगायतका बहाना देखाएर पन्छिने प्रयास गरे।

उकेराकर्मीले क्यानका सचिव पारस खड्कासँग गरेको कुराकानीमा आधारित ५ प्रश्न उत्तर :

नेपाल प्रिमियम लिगमा ब्रान्ड लजिकलाई कर्मर्सियल पार्टनरसिप दिइयो। यो भन्दा अगाडी क्यानले नै आयोजना गरेको विभिन्न प्रतियोगितामा बेटिङ्ग कम्पनीको सरोगेट कम्पनी समेत चोर बाटोबाट भित्रिएका थिए। कति खेलहरू फिक्सिङ समेत भएको देखिएको थियो। अबको लिगमा पनि त्यस्तै हुने हो?

होइन, नेपालमा हामीले एजेन्सीहरूसँग समन्वयन गरेर इभेन्टहरू गराइरहेका छौँ। केही इभेन्टहरू गर्दा हामीले कर्मर्सियल भ्यालु राखेर प्रतियोगिता आयोजना गर्छौ।

यो भन्दा अगाडीको एनपिएल आयोजना गर्दा अनलाइन बेटिङ्ग खेलाउने कम्पनी सरोगेट कम्पनीको आवरणमा मिडिया पाट्नर भएर घुसेका थिए। जस्तो डाफा न्युज लगायतका...

दाफा न्युजको प्रोफाइल हेर्नुभयो भने डेडिकेटेट न्युज एजेन्सी हो। डाफा बेटको सरोगेट ब्रान्ड हो। त्यो बाहेक हामी आएको १ वर्षमा अरू कुनै अरू ब्रान्ड प्रयोग गरेकै छैन। त्यो सँगसँगै अरू लोकल एजेन्सी नै हो हामीले प्रयोग गर्ने। हामीले क्रिकेटको गाइडलाइन राम्रोसँग बुझ्न आवश्यक छ। पछिल्लो १ वर्षमा कुन कुन ब्रान्डले के के गर्यो राम्रोसँग बुझ्नु पर्यो। पछिल्लो ४ वर्षमा नेपाल क्रिकेट सङ्घलाई कुन कुन ब्राँण्डले लगानी गर्यो राम्रोसँग बुझ्नु पर्यो। आइसिसीको इभेन्टमा के हुन्छ त्यो राम्रोसँग बुझ्नु पर्यो, सिसीको इभेन्टमा के हुन्छ राम्रोसँग बुझ्नु पर्यो। अनि त्यसरी तपाईँले राम्रोसँग बुझ्नु हुन्छ।

डाफा न्युजको साइड खोल्दा खेलमा लगानी गर भन्ने सेटिङ्ग राखेको छ। डाफा न्युजमा नेपालको खेल सम्बन्धी कुनै न्युज देखिँदैन। मात्रै पैसा लगानी गर भन्ने देखिन्छ। कम्पनीको उद्देश्य खेल सम्बन्धी जुवा खेलाउने हो भन्ने प्रस्टै छ। नेपालको कानुनले कुनै पनि प्रकारको जुवाको प्रवर्धन गर्न अनुमति दिँदैन। नेपालमा हुने प्रतियोगितामा लाग्ने कानुन नेपाली नै हो। अब यो भन्दा थप के बुझ्नुपर्यो?

हैन, यसमा यस्तो हुन्छ, अब कर्मर्सियलले कस्तो खालको कम्पनी ल्याउँछ भन्ने कुरा हो। अहिले नै हामीलाई पनि थाहा हुँदैन। किन कि मार्केटमा कुन ब्रान्डले कति लगानी गर्छ भन्ने कुरा हो।

भोलीको दिनमा जुवा प्रवर्धन गर्ने यस्तै कम्पनीहरू सरोगेट कम्पनीको नाममा मिडिया पाट्नर बनेर आयो भने क्यानले के गर्छ?

त्यसमा त हाम्रो पनि प्रोविजन हुन्छ यसलाई राख्ने, नराख्ने भन्नेमा। यो पहिलो वर्ष होइन, दोस्रो, तेस्रो वर्ष पनि होइन। यो भन्दा अगाडि उकेरामै न्युज आएको थियो, मैले पढेको पनि थिए। यसमा यहाँहरूले बुझ्नु पर्ने कुरा के भने एसीसी/आइसिसीको इभेन्ट भएको छ। एसीसीहरुको इभेन्टबाट आएर उनीहरूले ब्रान्डहरू प्रयोग गरेर गएका थिए।

त्यसरी त देशको नियम कानुन उल्लङ्घन भयो नि। देशको कानुन उलङ्घन गर्न मिल्छ?

देशको नियम कानुन उल्लङ्घन गर्ने अधिकार कसैलाई छैन, पाइँदैन। तर हुँदै आएको कल्चर के छ, ट्रेन्ड के छ भन्ने बुझ्नु जरुरी छ। कति ब्रान्ड/ सरोगेट कम्पनीहरूलाई हामीले ब्यान्ड गरेका छौँ। त्यही बिचमा डाफा न्युजहरूमा चाहिँ न्युज लेख्दा न्युजको फिडिङ्ग कसले गर्छ भन्ने कुरा हुन्छ नेपालमा। अब यो टुनामेन्ट आउन ६० दिन जति बाँकी छ। अहिले नै कस्तो खालको ब्रान्ड आउँछ मैले पनि भन्न सक्दिन।

यदि सरोगेट कम्पनी आएको खण्डमा के हुन्छ?

क्रिकेटमा एन्टी करप्सनदेखी, आइसिसीको यति धेरै नियम, कानुन हुन्छ कि त्यसमा कुनै पनि स्टेक होल्डर त्यसमा आबद्ध हुनै सक्दैन। यदि संलग्न भएको खण्डमा उनीहरू सस्पेन्ड नै हुन्छन्। अहिले चाहिँ हामीले भन्नै सक्दैनौ कुन ब्रान्ड आउँछ भनेर।

असोज १३, २०८१ सोमबार २०:२७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।