विपद्पछि काठमाडौंमा बालेन ठीक हुन् भन्न थाले नि? भन्ने प्रश्नमा ओलीको जबाफ, 'हाहा, राम्रो प्रश्न'

काठमाडौं : संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो भ्रमणबारे पत्रकारहरूसँग छोटो कुराकानी गरे। यसपटकको आफ्नो भ्रमण सुखद भएको दाबी गरेका प्रधानमन्त्रीलाई पत्रकारहरूले सोधेका विभिन्न समसामयिक प्रश्नमा प्रधानमन्त्री ओलीले जबाफ दिए।
त्यसैक्रममा पत्रकारहरूले काठमाडौं महानगरका मेयर बालेन शाहको सन्दर्भमा पनि प्रश्न गरेका थिए। पछिल्लो समय निम्तिएको बाढी-पहिरोपछि काठमाडौं उपत्यका नराम्ररी प्रभावित बन्यो।
यो समाचार तयार गर्दासम्म काठमाडौं उपत्यकामा मात्र ८२ जनाको मृत्यु भएको छ। थापाथलिस्थित सुकुम्बासी बस्तीहरू प्रभावित छन्। जन मात्र नभएर थुप्रै धनको नष्ट भएको छ।
खासगरी काठमाडौंमा खोला क्षेत्रमा २० मिटर छोडेर घर बनाउनुपर्ने बहस चलेको छ। धेरैले यतिबेला सर्वोच्च अदालतले २० मिटर छोडेर संरचना बनाउन गरेको फैसलालाई पछिल्लो दुई दिनमा आएको बाढीले प्रमाणित गरिदिएको भनिरहेका छन्। सर्वोच्चको त्यस फैसलालाई बालेनले पनि कार्यान्वयन गर्न जोड गरिरहेका छन्।
यही सन्दर्भमा प्रधानमन्त्री पत्रकारले आम नागरिकले बालेन शाह ठीक हुन् भनिरहेका छन्, अब त्यही बुझ्नुपर्ने भएको हो भन्ने प्रश्न सोधेका थिए। जबाफमा ओलीले भने, 'हाहा, राम्रो प्रश्न। थ्याङ्क्यु।'
असोज १४, २०८१ सोमबार १९:४२:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।