विपद्पछिको तत्काल उद्धारका लागि सरकारी निकायबीच समन्वय नदेखिएको मानव अधिकार आयोगको निष्कर्ष

विपद्पछिको तत्काल उद्धारका लागि सरकारी निकायबीच समन्वय नदेखिएको मानव अधिकार आयोगको निष्कर्ष
वर्षापछि बागमती नदीमा आएको बाढीले डुबानमा परेको काठमाडौँको त्रिपुरेश्वरस्थित बम्सिघाट क्षेत्र। तस्बिरः नवीन पौडेल/रासस

काठमाडौँ : बाढी पहिरो र डुबानलगायत विपद्मा उद्धार, राहत वितरण, स्वास्थ्य उपचारलगायत विपद् प्रतिकार्यमा ढिलाइ हुँदा प्रभावितहरूले थप समस्या भोग्नुपरेको राष्ट्रिय मानव अधिकार आयोगले टिप्पणी गरेको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा अनुगमनका क्रममा उद्धार सामग्री पर्याप्त नहुँदा उद्धार कार्य प्रभावकारी हुन नसकेको, सरकारले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरे पनि सम्पूर्ण उपचार निःशुल्क हुन नसकेको उल्लेख छ।

‘भारी वर्षा हुन सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरिए पनि विपद्पछिको तत्काल उद्धारका लागि सरकारी निकायबीच समन्वय, संवेदनशीलता र उद्धार सामग्री, उपकरण तथा प्रविधिको अभावका कारण सयौँ व्यक्तिले ज्यान गुमाउनु परेको पाइएको छ’ विज्ञप्तिमा भनिएको छ।

यस्तै, उद्धार गरी अस्थायी रूपमा प्रभावितलाई राखिएका ठाउँहरूमा फोहोर र महामारी फैलिन सक्ने भन्दै स्थानीयले हटाउन माग गर्दा समस्या भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

अस्थायी आवासको व्यवस्था गरिएका स्थानमा शौचालय, पानी, बिजुली बत्ती, सञ्चार सुविधा तथा फोहोर मैला व्यवस्थापनमा समस्या देखिएको, उद्धार गरिएका केही व्यक्तिहरू गाँस, बास, कपासका लागि आफन्तकामा सहारा लिएर बसेको र केही व्यक्तिले मनोसामाजिक भय र त्रास फैलाउने भ्रामक सूचनाहरू सामाजिक सञ्जालमा प्रसारण गरेको देखिएको आयोगले जनाएको छ।

प्राकृतिक विपद्पछि खाद्यान्नलगायत उपभोग्य सामग्रीमा हुनसक्ने कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र सङ्क्रामक रोग फैलिन सक्ने अवस्थाप्रति सचेत रहन एवम् विपद्को अवस्थामा संवेदनशील भई उच्चतम मानवीय भावनाका साथ उद्धार, राहत तथा पुनः स्थापनाका लागि जुट्न आयोगले आग्रह गरेको छ।

असोज १३, २०८१ सोमबार १९:२०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।