७ सय १३ जनाको हवाई उद्धार हुँदा झ्याप्लेखोलाबाट १७ सय सवारी काठमाडौँ भित्रिए

७ सय १३ जनाको हवाई उद्धार हुँदा झ्याप्लेखोलाबाट १७ सय सवारी काठमाडौँ भित्रिए

काठमाडौँ : निरन्तर वर्षाको बेलामा निरीह बनेको सरकारी संयन्त्र पानी रोकिएपछि उद्धारमा सक्रिय देखिएको छ। दुई दिन पानी रोकिएपछि सोमबार नेपाली सेनाले बाढी, पहिरो, डुबान लगायत प्राकृतिक विपद्मा परेका ७ सय १३ जनाको हेलिकप्टरबाट उद्धार गरेको गृह मन्त्रालयले जानकारी दिएको छ।

काभ्रेपलान्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट सोमबार बेलुकीसम्म ७ सय १३ जनाको हेलिकप्टरबाट उद्धार भएको गृहका प्रवक्ता ऋषिराम तिवारीले बताए।

बिपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलान्चोकका विभिन्न स्थानमा अलपत्र परेका ५ सय ३२ जनाको उद्धार गरी सुरक्षित स्थानमा लगेको र घाइतेहरूलाई अस्पतालसम्म पुर्याएको उनले बताए।

शनिवारदेखि सोमबार बेलुकीसम्म हवाई उद्धारमा सेनाका तीन वटा हेलिकप्टर परिचालित रहेको उनले जानकारी दिए। उनले हवाई उद्धारको कार्य अन्तिम अन्तिम चरणमा पुगेको बताए।

यसैगरि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र एक हजार सात सय ७ सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएको मन्त्रालयले जानकारी दिएको छ। आइतबार साँझदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरूसहित भित्रिएको गृहले जानकारी दिएको छ।

‘आजबाट उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरिने छन्’ उनले भने ‘मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसित समन्वय गरेर अघि बढेको छ।’

सोमबार साँझसम्म काभ्रेपलान्चोकको बिपी राजमार्ग अन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्धार भइसक्ने प्रवक्ता तिवारीले बताए।

असोज १३, २०८१ सोमबार १९:०७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।