दुर्गा प्रसाईंविरूद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर, हुनसक्छ पाँच वर्ष कैद

दुर्गा प्रसाईंविरूद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर, हुनसक्छ पाँच वर्ष कैद

काठमाडौं : जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। प्रसाईंउपर विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार सजाय मागदाबी गरिएको छ।

मुद्दा आजै दर्ता भइसकेकाले भोलि अदालतले बयान लिने र पुर्पक्षका लागि थुनामा पठाउने वा अन्य आदेश गर्ने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले बताए। 

उनका अनुसार प्रसाईंविरूद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर गरिएको छ। 

एक युट्युब च्यानलमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृको ‘चरित्रहत्या गरेको’ आरोप छ। 

ती महिलाले आफूमाथि गरेका अभद्र टिप्पणी युट्युब च्यानलसहित प्रसाईंविरूद्ध विद्युतीय कारोबार ऐनको उल्लंघन गरेको भन्दै उजुरी दिएकी थिइन्। त्यसपछि गत उनी असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए।

तर, प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन्। 

प्रसाईंलाई पाँच वर्षसम्म हुनसक्छ सजाय!
सोमबार नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरी बुझाइको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलले मुद्दा दायर गरेको छ। विद्युतीय कारोबार ऐन-२०६३ अनुसार आरोप पुष्टि भएमा अदालतबाट प्रसाईंलाई पाँच वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। 

'...महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने छ,' विद्युतीय कारोबार ऐनको दफा ४७ (१) मा भनिएको छ। 

असोज १३, २०८१ सोमबार १९:००:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।