‘असंवेदनशिल प्रधानमन्त्री’ ओली स्वदेश फर्किए

‘असंवेदनशिल प्रधानमन्त्री’ ओली स्वदेश फर्किए

काठमाडौँ : देश बाढी-पहिरोको विपत्तिमा रहेको बेलामा राष्ट्रसङ्घीय महासभाका महत्त्वपूर्ण कार्यक्रम सकिए पनि झिनामसिना काममा अल्झिएर असंवेदनशीलता देखाएका प्रधानमन्त्री केपी शर्मा ओली बल्ल सोमबार स्वदेश फर्किए।

निर्धारित मितिमै स्वदेश फर्किएका उनले उल्टो विपद्को बेलामा आलोचना गरेर अवस्था बिगार्न खोजेको आरोप लगाए। देशमा बाढी र पहिरोले मच्चाएको वितण्डाप्रति उनको मुहारमा सामान्य पीडाबोध समेत देखिएन। धन्न, विपरीत विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली लेखियो।

‘म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन’, प्रधानमन्त्री ओलीले भने, ‘म त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो। राखियो।’  

विपद्को बेलामा मन्त्रीपरिषद् बैठक राखेर महत्त्वपूर्ण निर्णय गर्न सरकार पुरै असफल भयो। प्रधानमन्त्रीलाई बाँकी सामान्य भेटघाट छोट्टाएर स्वदेश फर्कन सामाजिक सञ्जालबाट व्यापक आग्रह गरियो। तर उनी झिनामसिना काममा रमाएर संवेदनाहीनता देखाएर बसे।

उनै प्रधानमन्त्री ओली १० दिनपछि स्वदेश फर्किएपछि विमानस्थलमा ‘विपद्को संवेदनशील बेलामा विरोध गरेर परिस्थिति बिगार्न खोजिएको दाबी गरे।

उनले ‘संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौँ’ भन्दै सरकारले परिस्थिति सम्हाल्ने दाबी गरे।

काठमाडौँ नजिकै झ्याप्ले खोलामा पहिरोले पुरेको यात्रुवाहक सवारीबाट शव निकाल्न तीन दिन लाग्यो। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह पूर्ण निष्क्रिय रहे विपद् अवधिभर। गृह प्रशासन खोजी र उद्धारमा प्रभावहीन बन्दा डेढ सय बढीको ज्यान गइसकेको छ। तर उनले सरकारी संयन्त्रले काम गरिरहेको दाबी गर्न छाडेनन्।

असोज १३, २०८१ सोमबार १८:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।