अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्रीले भने 'म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको होइन'

अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्रीले भने 'म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको होइन'

काठमाडौं : संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका छन्।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताबाट नेपालले के फाइदा लियो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्रीले समस्याहरू हाम्रो देशका मात्र नभएको र विश्वव्यापी समस्याका बारेमा जानकारी गराएको भन्दै यस्तो जवाफ दिए।

‘म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन’, प्रधानमन्त्री ओलीले भने, ‘म त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो। राखियो।’  

प्रधानमन्त्रीले देशमा पछिल्लो समय देखिएको विपदबारे बोल्दै रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए। 

'काठमाडौंमा यस्तो गरी बाढी आउला भन्ने कल्पना पनि थिएन। यस्तो कुरालाई वस्तुगत ढंगले लिनुपर्छ, उनले भने।

ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गरेका छन्।

प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको संयुक्त राष्ट्रसंघ महासभाको ७९औं अधिवेशनमा भाग लिन यही असोज ४ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका थिए। ओलीले महासभालाई यही असोज १० मा सम्बोधन गरे। 
 
महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो।
 
न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए।

उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गरे। 

असोज १३, २०८१ सोमबार १७:३८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।