स्वदेश फर्किए प्रधानमन्त्री ओली

स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भएर आज अपरान्ह स्वदेश फर्किएका छन्। 

प्रधानमन्त्री ओली स्वदेश फर्कनेक्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा उनलाई भिआईपी कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंह लगायतले स्वागत गरे। त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सम्मान गारत अर्पण गरेको थियो।

प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको संयुक्त राष्ट्रसंघ महासभाको ७९औं अधिवेशनमा भाग लिन यही असोज ४ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका थिए। ओलीले महासभालाई यही असोज १० मा सम्बोधन गरे। 
 
महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो।
 
न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए।

उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गरे। 
 
ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत छन्। 

असोज १३, २०८१ सोमबार १७:०४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।