हेटौंडा-भैसे, सिमभञ्ज्याङ-पालुङ-नौबीसे र हेटौंडा-सिन्धुली-धरान-चतरा सडक खुल्यो

हेटौंडा-भैसे, सिमभञ्ज्याङ-पालुङ-नौबीसे र हेटौंडा-सिन्धुली-धरान-चतरा सडक खुल्यो

काठमाडौं : वर्षासँगै पहिरो खसेर अवरूद्ध भएका सडकमध्ये मकवानपुरको हेटौंडा-काठमाडौं र हेटौँडा–धरान-चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ। 

प्रहरीका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौंडा-भैसे, सिमभन्याङ-पालुङ-नौबीसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौंडा-सिन्धुली-धरान चतरा सडक आज बिहानबाट खुलेका छन्। 

यस्तै, त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौंडा-भैसे-चित्लाङ-चन्द्रागिरि-काठमाडौं जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो। वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता इन्स्पेक्टर ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। 

सो सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-५ दामनमा पहिरो जाँदा सडक अवरूद्ध भएको थियो। कान्तिलोकपथ सडकको बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भिमफेदी गाउँपालिका-८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक अझै पूर्ण रूपमा अवरूद्ध छ।

दक्षिणकाली-छैमले-सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेर कुलेखानी-फाखेल-फर्पिङ बाटो पूर्ण रूपमा अवरूद्ध रहेको इन्स्पेक्टर सापकोटाले बताए। 

दक्षिणकाली-छैमले-सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ।

कुलेखानी-मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउँपालिका-१ सिम्लाङमा पहिरोका कारण थानकोट-कुलेखानी बाटो पूर्ण रूपमा अवरूद्ध छ। 

भीमफेदी गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसेर हेटौंडा-कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरूद्ध रहेको इन्स्पेक्टर सापकोटाले बताए। अवरूद्ध अन्य सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको छ।  

असोज १३, २०८१ सोमबार १५:४२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।