दीपक-दीपाको ब्यानरपछि अनमोलसँग ‘जेरी अनटप’ गर्दै केदार

दीपक-दीपाको ब्यानरपछि अनमोलसँग ‘जेरी अनटप’ गर्दै केदार

काठमाडौं : हास्यटेलिश्रृंखला ‘मेरी बास्सै’बाट माग्ने बुढाको रूपमा उदाएका केदार घिमिरेलाई पछिल्लो डेढ दशकमा दर्शकले त्यही भूमिका र नामबाटै रुचाइरहेका छन्। टेलिफिल्म हुँदै फिल्मसम्म आइपुग्दा पनि उनी अझै पनि त्यही लवज र नामले चिनिन्छन्।

समूहमा बनेको फिल्म ‘छ एकान छ’ देखि ‘छक्का पञ्जा’ सिरिजसम्म आइपुग्दा दीपकराज गिरी र दीपाश्री निरौलाको ब्यानर उनलाई फापेकै देखिन्छ। तर, त्यसबाहेकका ब्यानरमा उनी खुम्चिएका छन्। उनले ‘छक्का पञ्जा’बाहेक खेलेको फिल्म ‘रामकहानी’ले पानी समेत भन्न पाएन।

त्यसपछि केदारले बाहिरी ब्यानरको फिल्ममा खासै काम गरेका छैनन्। गत वर्ष मंसिरमा फिल्म ‘कंगारु’मा पनि अनुबन्ध भएको चर्चा भए पनि अहिलेसम्म त्यसको छायांकन भएको छैन।

‘छक्का पञ्जा’ समूहबाट उनीसँगै प्रवेश गरेका सीताराम कट्टेल(धुर्मुस), सन्दीप क्षेत्री, कुञ्जना घिमिरे(सुन्तली), शिवहरी पौडेल र  जितु नेपाल बाहिरिँदा/निकालिँदा समेत उनी लिसो झैँ त्यही टिममा छन्।

दीपक-दीपा भन्दा फरक ब्यानरबाट बनेको फिल्म नफापेका केदार अहिले ‘जेरी अनटप’मा अनुबन्ध भएका छन्। ‘छ माया छपक्कै’मा सँगै सहकार्य गरेका निर्माता रोहित अधिकारी कार्यकारी निर्माता रहेको फिल्मको मुख्य अभिनेता अनमोल केसीका अलावा आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त लगायतका कलाकार हुनेछन्।

रोहित अधिकारीले निर्माण गरेको यसअघि प्रदर्शनमा आएको फिल्म ‘फर्की फर्की’मा फ्लप भएको थियो। उनै फ्लप फिल्म निर्माताको पछि लागेका छन् अहिले केदार। छक्का पञ्जा टिमभन्दा बाहिरिएको फिल्म उनलाई मात्र होइन, कसैलाई पनि फापेको छैन। के उनलाई ‘जेरी अनटप’ फाप्ला त? त्यो त समयले नै बताउला!

असोज १३, २०८१ सोमबार १३:३३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।