मध्यपूर्वमा ठूलो युद्ध हुनबाट जोगाउनुपर्छ : राष्ट्रपति बाइडेन

मध्यपूर्वमा ठूलो युद्ध हुनबाट जोगाउनुपर्छ : राष्ट्रपति बाइडेन

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा ठूलो युद्ध हुनबाट जोगाउनुपर्ने बताएका छन्।

डेलावेयरस्थित एयर फोर्स बेसमा पत्रकारहरूसँग कुरा गर्दै उनले यसबारेमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गर्ने बताए। तर, उनीहरूबीच कहिले वार्ता हुन्छ भन्ने उनले बताएनन्।

यसअघि ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी टिभी नेटवर्क (एबीसी) लाई इजरायलले लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहमाथि गरेको आक्रमणको सम्बन्धमा इरानको कुनै पनि प्रतिक्रियाका लागि तयार रहनुपर्ने बताएका थिए।

अर्कोतर्फ, इजरायलले पछिल्ला केही घण्टामा लेबनानमा आफ्नो सैन्य कारबाहीलाई तीव्र बनाएको छ। यसले हिजबुल्लाहसँग जोडिएका दर्जनौं लक्ष्यहरूमा आक्रमण गरेको छ।

इजरायली सेनाले आफ्नो वायुसेनाले बेका उपत्यका र दक्षिणी लेबनानमा रहेको हिजबुल्लाह भवनहरूमा भण्डारण गरिएका हतियार र रकेट लन्चरहरूमा आक्रमण गरेको जनाएको छ।

अर्को सङ्गठन, पपुलर फ्रन्ट फर लिबरेशन अफ प्यालेस्टाइनले बेरुतको कोला जिल्लामा इजरायली आक्रमणमा आफ्ना तीन नेता मारिएको जनाएको छ।

आइतबार इजरायली सेनाले यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा आक्रमण गरेको थियो। यसमा होदेइदाह शहरमा रहेको पावर प्लान्ट र बन्दरगाहलाई निशाना बनाइएको थियो।

असोज १३, २०८१ सोमबार १०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।