हिजबुल्लाह प्रमुखको हत्या विरोधमा पाकिस्तानमा विरोध, अमेरिकी दूतावासतर्फ बढे प्रदर्शनकारी

हिजबुल्लाह प्रमुखको हत्या विरोधमा पाकिस्तानमा विरोध, अमेरिकी दूतावासतर्फ बढे प्रदर्शनकारी

एजेन्सी : हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको हत्याको विरोधमा पाकिस्तानमा आइतबार कराँचीमा विरोध प्रदर्शन भयो।

सीएनएनका अनुसार भीड एक्कासी हिंस्रक बनेको थियो जसलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्यो। यसबाट आक्रोशित भएका मानिसहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।

रिपोर्टका अनुसार भीड कराँचीस्थित अमेरिकी दूतावासतर्फ जान लागेपछि रोक्न प्रहरीले कडा कारबाही गरेको थियो।

यो र्याली पाकिस्तानको शिया इस्लामिक राजनीतिक संगठन मजलिस वाहदत-ए-मुस्लिमिनले नेतृत्व गरेको थियो। उसले आफ्नो विरोध र्याली शान्तिपूर्ण भएको दाबी गरेको छ।

यद्यपि भीड उग्र बनेपछि कराँची प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो। र्याली नियोजित मार्गबाट ​​हटेर अमेरिकी दूतावासतर्फ अघि बढेको र त्यसलाई रोक्ने प्रयास गरिएको प्रहरीले जनाएको छ।

रिपोर्टहरूका अनुसार नसरल्लाहको हत्याको विरोधमा पाकिस्तानका अन्य भागहरूमा पनि र्यालीहरू निकालिएको थियो।

असोज १३, २०८१ सोमबार १०:०५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।