आज स्वदेश फर्कँदै प्रधानमन्त्री ओली

आज स्वदेश फर्कँदै प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भई आज स्वदेश फर्कँदैछन्।

उनी अपराह्न ४ बजे स्वदेश फर्कने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए।

महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो।

न्युयोर्क रहँदा ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी भए।

उनले अतिकम विकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भए।

उनले भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गरे।

ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत छन्।

असोज १३, २०८१ सोमबार ०८:४३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।