लेबनानका प्रधानमन्त्रीले भने- ‘इजरायली आक्रमणले १० लाख मानिस विस्थापित भए’

लेबनानका प्रधानमन्त्रीले भने- ‘इजरायली आक्रमणले १० लाख मानिस विस्थापित भए’

एजेन्सी : लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलको लगातार हवाई आक्रमणका कारण देशभर १० लाखभन्दा बढी मानिस विस्थापित भएको बताएका छन्।

यसलाई अहिलेसम्मकै ठूलो विस्थापन भन्दै प्रधानमन्त्री मिकातीले हवाई हमलाका कारण मानिसहरु बेरुत र देशका अन्य भागहरु लगायत दक्षिणी सीमानाका क्षेत्रहरुबाट भाग्न बाध्य भएको बताएका हुन्।

लेबनानको स्वास्थ्य मन्त्रालयले आइतबार भएको हवाई हमलामा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ।

यद्यपि कमजोर भएको भनिएको हिजबुल्लाहले उत्तरी इजरायलमा थप रकेट प्रहार गरेको छ। दुई दिनअघि इजरायलले बेरुतमा हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्या गरेको थियो।

अर्कोतर्फ इजरायलले यमनमा इरान समर्थित हुथी विद्रोहीको सैन्य अखडालाई ‘ठूलो मात्रामा’ निशाना बनाएको बताएको छ।

हिजबुल्लाहले आइतबार आफ्नो शीर्ष सैन्य कमाण्डर अली कराकी र वरिष्ठ धार्मिक नेता शेख नाबिल कोक इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ।

इजरायली सेना प्रमुख हर्जी हेलेवीले भनेका छन्, ‘हामीले हिजबुल्लाहलाई कडा प्रहार गर्न आवश्यक छ।’

लेबनानमा बीबीसी संवाददाताहरूले स्थानीय अधिकारीहरूले सबैलाई सुरक्षित आश्रय र अस्पतालहरू उपलब्ध गराउन ठूलो दबाब महसुस गरिरहेको बताए।

असोज १३, २०८१ सोमबार ०८:३८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।