वर्षाले बिजुलीको खम्बा ढल्यो, एक हजार पाँच सय घरधुरी अन्धकारमा
दमौली : बिहीबारदेखि परेको वर्षाका कारण तनहुँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ।
वर्षासँगै आएको पहिरोले व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सिमाना नाल्दीमा रहेको विद्युत् खम्बामा क्षति पुग्दा देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकाका उपभोक्ता अन्धकारमा बस्नुपरेको हो।
पहिरोले सडकसमेत अवरुद्ध हुँदा विद्युत् सञ्चालन गर्न कठिनाइ भएको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिए।
नाल्दीमा गाडिएको ११ केभी ‘डबल सर्किट’ ११ मिटरका नौ थान स्टिल विद्युत् खम्बा ढलेर प्रयोग गर्न नसकिने गरी क्षति भएको रेग्मीले बताए। बाढीपहिरोले जिल्लाका अन्य ठाउँमा समेत विद्युत् खम्बामा क्षति पुगेको रेग्मीले बताए।
उनका अनुसार भानु नगरपालिकाको शेपाबगैँचा, व्यास नगरपालिकाको छाब्दीबाराही, घाँसीकुवा, कमलाबारी, करङकाठलगायत ठाउँमा पहिरोले विद्युत् खम्बामा क्षति पुगेको छ।
असोज १४, २०८१ सोमबार ०८:०१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।