क्यानडामा नेपालको पहिलो जित, ओमान ३७ रनले पराजित

क्यानडामा नेपालको पहिलो जित, ओमान ३७ रनले पराजित

काठमाडौं : क्यानडामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको छ।

जारी त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले ओमानलाई हराउँदै आफ्नो हारको यात्रा रोकेको हो। लगातार ११ खेलमा जित निकाल्न नसकेको नेपालले १२औं खेलमा आएर हारको शृङ्खलामा पूर्णविराम लगायो।

नेपालले सोमबार विहान सकिएको खेलमा ओमानमाथि ३७ रनको जित हात पारेको हो। नेपालले जितका लागि दिएको १ सय ७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भयो।

ओमानका लागि सोयब खानले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४५ तथा रफिउल्लाहले १२ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३३ रन जोडे।

प्रतिक अथाभालेले १४ बलमा १५, खालिद कैलले ११ रन जोडे।

नेपालका लागि करन केसीले ३, कुशल भुर्तेल र गुलशन झाले समान २ तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले समान १ विकेट लिए।

त्यसअघि क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो।

नेपालका लागि गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक नट आउट ४० रन बनाए। छैटौं विकेटका लागि गुलशन र कुशल भुर्तेलले ६१ रनको साझेदारी गरे। कुशलले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए।

कुशल मल्लले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए। ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७-२७ रन जोडे। दीपेन्द्रसिंह ऐरीले ५ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट १८ रन बनाए।

ओमानका लागि कप्तान अकिब इल्यासले ३, जिशान मक्सुद र फैयज बटले समान १ विकेट लिए। सिरिजको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो।

खेलमा अलराउन्ड प्रदर्शन देखाएका गुलशन ‘प्लेयर अफ द म्याच’ बनेका छन्। ओमानविरुद्धको खेलमा गुलशनले ब्याटिङ तर्फ १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४० रन बनाएका थिए । बलिङमा गुलशनले २.१ ओभरमा १४ रन खर्चिएर २ विकेट लिएका थिए।

नेपालले तेस्रो खेलमा मंगलबार क्यानडासँग खेल्दा चौथो खेलमा बुधबार फेरि ओमानको सामना गर्नेछ।

असोज १३, २०८१ सोमबार ०७:२४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।