काठमाडौंमा बाढीले अवरूद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने

काठमाडौंमा बाढीले अवरूद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीले काठमाडौंका केही स्थानमा अवरूद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने भएको छ।

खानेपानीमन्त्री प्रदीप यादवले बाढीले क्षति पुर्याएका ठाउँमा निरीक्षण गर्दै दिएको निर्देशनअनुसार काम अगाडि बढेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलले बताए। 

'सोमबारसम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गर्छौं। भूमिगत पानीका धेरै पम्पहाउस डुबानमा भएकाले भूमिगत स्रोतको हाल एक करोड लिटर पानी मात्रै वितरण गर्न सकिनेछ, उनले भने। 

यसैगरी, ललितपुरको फर्पिङ जलविद्युत् गृहबाट फर्पिङ पम्पिङ स्टेसनमा ल्याइएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानी आपूर्ति असहज भएको पौडेलले बताए। 

काठमाडौंको महाङ्काल चौरको पम्पिङ सिस्टम क्षतिग्रस्त भएकाले मर्मतसम्हारका लागि थप दुई दिन लाग्ने छ। विद्युतीय उपकरणमा समस्या आएका कारण पूर्ववत् अवस्थामा नियमित पानी आपूर्तिमा समस्या भएको जनाइएको छ।    

असोज १२, २०८१ आइतबार २१:२८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।