‘सिधा कुरा’का सम्पादक र प्रकाशकलाई ३/३ महिनाको कैद सजाय, क्षमायाचना गरे ७ दिन मात्रै कैद सजाय हुने

‘सिधा कुरा’का सम्पादक र प्रकाशकलाई ३/३ महिनाको कैद सजाय, क्षमायाचना गरे ७ दिन मात्रै कैद सजाय हुने

काठमाडौं : सर्वोच्च अदालतले सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ।

आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत पूर्ण इजलासले उनीहरुलाई ३/३ महिनाको कैद सजाय सुनाएको हो।

अदालतको अवहेलना गरेको अभियोगमा ३/३ महिनाको कैद सजाय सुनाएका उनीहरूले यदि अदालतसमक्ष क्षमायाचना गरेमा ७ दिन कैद सजाय गर्ने फैसला भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। 

सिधा कुरा डटकमले प्रकाशन तथा प्रसारण गरेको ‘द डार्क फाइल’ नामक कार्यक्रमले अदालतको अवहेलना गरेको भन्दै रिटमा सर्वोच्चमा रिट दायर भएको थियो। 

प्रसारित अडियोलाई ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ दाबी गरेपछि सो अडियो कपोलकल्पित र भ्रामक भन्दै सर्वोच्चका सूचना अधिकारीले नै सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। 

सीधा कुरा डटकमले राजकुमार तिमल्सिनाले दिएको एक अडियो कुराकानीका आधारमा उक्त समाचार प्रकाशन गरेको थियो। सर्वोच्च अदालतले तिमल्सिनालाई ६ महिना कैद गर्न आदेश दिएको छ।

त्यस्तै, सीधा कुरा डटकमलाई पनि ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।

अनलाइनले क्षमायाचनासहित भूलसुधार गरेमा उसलाई तोकिएको ५ हजार रुपैयाँ जरिवाना मिनाहा गर्ने आदेश दिएको छ।

असोज १२, २०८१ आइतबार २०:४६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।