मंगलबारसम्म रहनेछ हल्का वर्षाको सम्भावना

मंगलबारसम्म रहनेछ हल्का वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्कालका लागि ठूलो वर्षा नहुने भए पनि हल्का वर्षाको सम्भावना भने नटरेको जनाएको छ। विभागकाअनुसार देशभर मनसुनी वायु तथा भारतको उत्तर प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा छ। 

महाशाखाका मौसमविद् शान्ति कँडेलले मौसममा सुधार हुँदै गए पनि मङ्गलबारसम्म मुलुकका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताए। 

'मङ्गलबारसम्म हल्का वर्षा भए पनि विपद् निम्त्याउने किसिमको ठुलो वर्षाको सम्भावना तत्कालका लागि छैन', उनले भने। 

महाशाखाले आगामी तीन दिनसम्मको मात्रै मौसमी अवस्था पूर्वानुमान गर्दै आएको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसमी बुलेटिनमा उल्लेख छ। 

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

राति भने कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यसैगरी कोशी र गण्डकी  प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ' बुलेटिनमा भनिएको छ, 'राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।'

कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ। 

असोज १२, २०८१ आइतबार २०:२१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।