विपदपछि ११ सय मेगावट विद्युत अवरूद्ध

विपदपछि ११ सय मेगावट विद्युत अवरूद्ध

काठमाडौं : अविरल बर्षाका कारण हालसम्म विद्युत आयोजनामा साढे दुई अर्ब रुपैयाँ बराबरको नोक्सानीको भएको छ। 

आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ११ सय मेगावट विद्युत अवरुद्ध भएको साथै दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिएको हो। 

पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कुल ६२५.९६ मेगावट जडित विद्युत क्षमताको ११ वटा संचालनमा रहेका जलविद्युत आयोजनाहरूमा क्षति भएको छ। आपतकालीन अवस्थामा अधिकांश विद्युतगृहहरूको उत्पादन बन्द समेत रहे अनुसार करिब ११०० मेगावट बराबरको उत्पादन रोकिएको र कुल १०१०.२९ मेगावट जडित विद्युत क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति भएको छ। विद्युत आयोजनामा पुगेको क्षति तर्फ हालसम्म प्राप्त तथ्यांक अनुसार करिब २.४५ अर्ब बराबरको क्षति भएको छ।’

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले अहिलेसम्म प्राप्त तथ्यांक अनुसार ऊर्जा क्षेत्रमा मात्रै करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए।

करिब ११०० मेगावट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द रहेको समेत उनको भनाइ छ। 

उनले भने, ‘आपतकालीन अवस्थामा अधिकांश विद्युत् गृहहरूको उत्पादन रोकिएको छ, ऊर्जा क्षेत्रमा मात्रै करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति भएको छ। सबै आयोजनाहरुलाई जानकारी गराउँदा गराउँदै पनि यती क्षति हुन पुगेको छ। जानकारी गराएकै कारणले कम क्षति भएको हो। गत वर्ष मात्रै पूर्वी क्षेत्रमा मात्रै बाढीका कारण उर्जा क्षेत्रमा १० अर्ब बराबरीको क्षति भएको थियो।’

अविरल वर्षाले १०१०.२९ मेगावट जडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको उनको भनाइ छ।

मन्त्रालयका अनुसार नदी नियन्त्रण तथा सिँचाई क्षेत्रमा करिब १ अर्ब ३५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जनाएको छ। विभिन्न सिँचाइ आयोजना तथा नदी नियन्त्रणमा क्षति पुगेको  समेत मन्त्री खड्काले बताए।

कमत्ता सिँचाई व्यवस्थापन आयोजना अन्तर्गत बाँधको तल्लो क्षेत्रमा,नारायणी सिँचाई व्यवस्थापन आयोजना अन्तर्गत युरिया नदिले कटान गरी नहरमा सामान्य क्षति र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिन्धुली अन्तर्गत निर्माणाधीन कफर ड्याम डुबानमा परेको र रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएको मन्त्रालयले जनाएको छ।

असोज १३, २०८१ आइतबार २०:१४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।