तीन वर्षको हुँदा आमा गुमाएका विवेकले झ्याप्ले खोला पहिरोमा श्रीमती र दुई वर्षीय छोरा पनि गुमाए

बुटवल : बुटवलका विवेक रायमाझीलाई एकपछि अर्को गरी बज्रपात थपिएको छ। ३ वर्षकोहुँदा आफ्नी आमा गुमाएका विवेकले धादिङको झ्याप्ले खोला पहिरोमा आफ्नी श्रीमती र दुई वर्षीय छोरा पनि गुमाएका छन्।
बुटवलबाट शुक्रबार बिहान काठमाडौं हिँडेको लु २ ख ४५७८ नम्बरको विङगरमा विवेकी श्रीमती र छोरा जाँदै थिए। काठमाडौं हिँडेकी श्रीमती प्रतिमा र छोरा क्रिश गुमाएपछि उनले जीवनमा ‘सर्वस्व’ गुमाएको महसुस गरे।
केही दिनअघि मात्र आफ्नो नागरिकताको प्रतिलिपि बनाउन भन्दै प्रतिमा काठमाडौंबाट आएकी थिइन्।
गुल्मीको दरबार गाउँपालिका चारपाला घर भएका विवेक पछिल्लो समय काठमाडौंमा बस्दै आएका थिए। गुल्मी झिरुबासकी प्रमिता भुसालसँग साढे ३ बर्ष अगाडि मात्रै विवेकले विवाह गरेका थिए।
लामो समय बुटवलको योगिकुटीस्थित शान्तिचोकमा बाइक अड्डा हुँदै फल्स सिलिङ, नास्ता पसल लगायतबाट व्यावसायिक यात्रा गरेका विवेकले आफ्नो यात्रालाई अझ उचाइमा लैजान चाहन्थे। त्यसैले झण्डै ६ महिना अगाडि मात्रै उनी काठमाडौंको थानकोटमा गई मोटरसाइकल मर्मत केन्द्र चलाइरहेका थिए।
असोज ११ मा कालिकानगरस्थित आफ्नी सानीआमाको घरमा बसेकी प्रतिमा बुवाको श्राद्ध तिथिको लागि काठमाडौं जाँदै थिइन्।
श्रीमती र दुई वर्षीय छोरा गुमाएका विवेक यतिबेला बोल्न नसक्ने अवस्थामा छन्।
असोज १३, २०८१ आइतबार १९:४८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।