सर्वदलीय बैठकका ९ निर्णय : अवरूद्ध सडक खुलाइने, यात्रुलाई चाँडै गन्तव्यमा पुर्याइने

सर्वदलीय बैठकका ९ निर्णय : अवरूद्ध सडक खुलाइने, यात्रुलाई चाँडै गन्तव्यमा पुर्याइने

काठमाडौं : प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोका कारण प्रभावित तथा घाइतेको तत्काल खोज तथा उद्धारमा जुट्ने निर्णय गरेको छ।

आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको सर्वदलीय बैठकले बाढी पहिरोबाट प्रभावितहरूको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको हो।  

बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बाढी पहिरोका कारण प्रभावित तथा घाइतेको तत्काल खोज तथा उद्धारमा जुट्ने निर्णय गरेको बताए। 

उनले आवागमन अवरुद्ध भएर बाटैमा फसेका यात्रुलाई यातायात व्यवसायी र प्रशासनको सहयोगमा गन्तव्यमा पुर्याउने, यातायात आवागमन सुचारू गर्ने, विद्युत् आपूर्ति, र टेलिफोन र खानेपानी सम्बन्धित मन्त्रालयले तत्काल सुचारू गर्न पहल गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए। 

उनले  भने, ‘अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई  तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी, अन्य राहत सामाग्री उपलब्ध गराउने  निर्णय गरेको छ।’

यस्तै, विनाशकारी बाढीका कारण महामारी उत्पन्न हुनसक्ने भन्दै न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयले निरोधात्मक र आवश्यक जनशक्तिसहित औषधी उपचारको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ। 

बाढी पहिरोका कारण कृषिमा पुगेको क्षति सम्बन्धित मन्त्रालयले संकलन र घरवास गुमाएकाहरूका लागि आवासको प्रबन्ध सहरी विकास मन्त्रालय गर्ने निर्णय पनि गरेको छ। 

नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै उद्योग मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा खाद्यान्न, तरकारी ग्यासलगायतका बस्तु सुपथ मूल्यमा उपलब्ध गराउने निर्णय गरेको छ। 

यस्ता छन् सर्वदलीय बैठकका निर्णयहरू :
१. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनुभएका सम्पूर्णजनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। सम्पूर्ण घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
२. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी  प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने।
३. वर्षाका कारण गएको पहिरो र बाढीले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरूलाई सम्बन्धित जिल्ला विपद  व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्याउने ।
४. देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा सानो ठूलो रोकावट आई आवागमन अवरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन सुचारू गर्ने। 
यसैगरी उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाइन र विद्युत गृहहरूको मर्मत संभार गरी विद्युत आपूर्ति र सूचना तथा संचार प्रविधि मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सुचारू गर्ने। बाढी र पहिरोको कारण क्षतिग्रस्त भएका खानेपानी प्रणालीको मर्मत संभार गरी खानेपानी आपूर्ति गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने।
५. मौसममा क्रमिक सुधार आइरहेको भएतापनि विनाशकारी बाढीका कारण सिर्जित विषम परिस्थितिमा जनस्वास्थ्यको सवाल अहम् हुने भएकोले विपद पछिको महामारीको संभावनालाई न्यूनीकरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक दुबै विधि प्रयोग गरी प्रभावित क्षेत्रमा औषधी उपचार र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने।
६. विपदको चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको दशैं, तिहार, छठ जस्ता पर्वहरूलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्याँस लगायत अत्यावश्यक दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा सजिलै सँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने।
७. बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा   पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरि पुनर्निर्माणको लागि आवश्यक प्रकृया अघि बढाउने।
८. बाढीपहिरोबाट घरवास गुमाएका पीडितहरुको पुनःस्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा शहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने।
९. विपतको यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र निजी क्षेत्रसमेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा  उद्धार,राहत र पुनःस्थापनाको काम गर्ने। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण निजी क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने। 

असोज १२, २०८१ आइतबार १७:५८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।