विपदबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो, ६४ जना अझै बेपत्ता

विपदबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो, ६४ जना अझै बेपत्ता

काठमाडौं : बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ। गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ।

त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन्। सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १९३ जनाको सकुशल उद्धार गरिएको छ। नेपाली सेनाको टोली बढी जोखिममा फसेका नागरिकहरूको उद्धारका लागि दुई दिनदेखि हवाई उद्धार गरिरहेको छ।

विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक सुचारू गर्न सबै संयन्त्रहरू परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेहरूको उपचारका लागि अस्पताल पु¥याउने लगायतका कार्यमा सुरक्षाकर्मीहरु सक्रिय भएर लागि परेका छन्। 

असोज १२, २०८१ आइतबार १७:१६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।