हेर्ने कथाका ‘प्रकाश’माथि दुई भोजपुरे नेताको ‘राजनीति’, शेरधनले जग्गा दिए, सुदनले घर बनाइदिए

हेर्ने कथाका ‘प्रकाश’माथि दुई भोजपुरे नेताको ‘राजनीति’, शेरधनले जग्गा दिए, सुदनले घर बनाइदिए

काठमाडौं : हराएको ३५ वर्षपछि प्रकाश तामाङ पुर्ख्यौली थलो भोजपुर फर्किएपछि एमाले नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रकाशलाई पाँच रोपनी तीन आना जमिन दिए।

शेरधनकी पत्नी जाम्मु इन शेर्पाको पहलमा तामाङलाई मालपोत कार्यालय भोजपुरमा जमिन लिखित पास गरिएको छ। जाम्मुले आफ्नो नाममा रहेको त्यो जमिन पास गरेपछि प्रकाशको घरमा भेला भएर लालपूर्जा लगायतका सामग्री हस्तान्तरण गरियो। 

त्यसक्रममा प्रकाशलाई लालपूर्जासहित एक थान हाते ट्याक्टर र एक हल गोरू हस्तान्तरण गरिएको थियो।

त्यसअघि भोजपुरको षडानन्द नगरपालिका-१०, थाप्लेगाउँमा बस्दै आएका प्रकाशका बुवाआमा अर्काकै जमिन जोतभाग गरिरहेका थिए। त्यो देखेपछि शेरधन र उनकी पत्नीले २५ दिनअघि प्रकाशलाई एक लाख रूपैयाँ दिँदै आवश्यकता अनुसार थप सहयोग गर्ने आश्वासन दिएका थिए। 

उता, 'हेर्ने कथा' मार्फत सार्वजनिक भएका प्रकाशलाई पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद सुदन किरातीले पहिल्यैदेखि सहयोग गर्दै आएका छन्। गएको संसदीय चुनावमा एकअर्काको प्रतिस्पर्धी रहेका सुदन र शेरधनबीच अहिले प्रकाशलाई प्रकाश कसले बढी सहयोग गर्ने भन्ने होडबाजी चलिरहेको छ। 

आइतबार साँझ सुदनले आफ्नो फेसबुकमार्फत प्रकाशको खातामा क्युआर कोडबाट जम्मा भएको पैसा नचलाएको बताए। 

प्रकाशको पुर्ख्यौली घरजग्गा नभएकाले किरातीले घर बनाइदिने जिम्मा लिएदेखि अहिले निरन्तर घर बनाउने कार्य जारी छ।

षडानन्द नगरपालिका-१० साम्पाङमा माओवादी केन्द्रको अगुवाईमा करिब १५ लाख मूल्य बराबरको जग्गामा घर बन्न लागेको हो। उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ।

घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइने छ । 

प्रकाशका लागि अहिले सहयोगी निकायबाट विभिन्न सहयोग हुँदै आइरहेको छ। आगामी दिनमा बाबुआमासँगै बसेर खेती किसानी गर्ने प्रकाशको इच्छा छ।  

असोज १२, २०८१ आइतबार १६:१३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।