लुम्बिनी विकास कोषका पदाधिकारीहरूमाथि हातपात गर्ने ठेकेदारहरूले माफी मागे

लुम्बिनी विकास कोषका पदाधिकारीहरूमाथि हातपात गर्ने ठेकेदारहरूले माफी मागे

लुम्बिनी :  लुम्बिनी विकास कोषका पदाधिकारीहरूमाथि हातपात र दुर्व्यवहार गर्ने निर्माण व्यवसायीहरूले सार्वजनिक रुपमा लिखित क्षमा याचना गरेका छन्। 

जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आइतबार बसेकाे बैठकमा काेषका पदाधिकारी, पूर्व मन्त्री संघीय सांसद र सराेकारवालाहरूकाे बैठकमा चार बुँदे सहमति गरेकाे हाे। 
 
काेषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, रूपन्देही क्षेत्र नम्बर ५ का संघीय सांसद वासुदेव घिमिरे, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पूर्वमन्त्री चन्द्रप्रकाश खनाल बलदेव, पूर्वमन्त्री वकिल मुसलमान, काेषका काेषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, याेजना प्रमुख स्मिता भट्ट, निर्माण व्यवसायीका तर्फबाट बाबुल निर्माण सेवाका ताैफिक अहमद खान, लुम्बिनी अनक खड्का कृष्ण जेभिका देवराज गाैतम, खानी अर्घाखाँची बाबुल निर्माण सेवाका सन्ताेष अधिकारी, रमन गजुरमुखी रामजानकी जेभिका राजीव शाह, लामा एपेक्स कमलजितका प्रभातकुमार झा, सिद्वार्थ उद्याेग बाणिज्य संघका उपाध्यक्ष गाेविन्द ज्ञवाली, रूपन्देहीका प्रहरी प्रमुख रजितसिह राठाैर लगायतले हस्ताक्षर गरि सहमति गरिएकाे हाे। 

सहमतिमा काेषमा आगामी दिनमा यस्ता कृयाकलापहरू नगर्ने/नगराउने प्रतिवद्धता समेत व्यक्त गरिएकाे छ। यस्तै, गत असाेज ८ मा भएकाे घटनामा संलग्नहरू उपर निष्पक्ष छानबिन गरी कारवाहीको प्रकृया अगाडि बढाउने बैठकले निर्णय गरेकाे छ। 

निर्माण व्यवसायीहरूको तर्फबाट परिचालन हुने सव कन्ट्याक्टर लयायतका अन्य व्यक्तिहरूको जिम्मेवारी/जवाफदेहिता स्वयं निर्माण व्यवसायीहरूले लिने, निर्माण व्यवसायीहरूले सम्पादित कार्यको नियमानुसार पाउने भुक्तानी तत्काल गर्ने व्यवस्था लुम्बिनी विकास कोषले मिलाउने निर्णय भएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

निर्माण व्यवसायीहरूले उप्रान्त घेराउ, धर्ना लगायतका कृयाकलापहरू नगर्ने/नगराउने सहमति समेत भएकाे काेषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। 

गत असाेज ८ मा उपाध्यक्षसहितका पदाधिकारीलाई गालीगलाैज गर्दै निर्माण व्यवसायीहरूले कोषाध्यक्ष र सदस्यसचिवमाथि हातपात र दुर्व्यहार गरेका थिए। 

असोज १२, २०८१ आइतबार १५:१२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।