‘झिल्को’को फर्स्ट लुकमा देखिए सुनिल पोखरेलदेखि वर्षा सिवाकोटीसम्म

‘झिल्को’को फर्स्ट लुकमा देखिए सुनिल पोखरेलदेखि वर्षा सिवाकोटीसम्म

काठमाडौं : निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको फिल्म ‘झिल्को’को फर्स्ट लुक सार्वजनिक गरिएको छ। 

फिल्मको फर्स्ट लुकमा कलाकारहरू सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन्। 

मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या तथा त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे विषयलाई फिल्मले समावेश गरेको निर्देशक भट्टराईले बताए। 

'आजको दिनमा सबैभन्दा ठूलो कुलत मोबाइल ग्याजेट हुन्, जसको कुलतमा फसेर एउटा परिवारले कति सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश चलचित्रमा दिने प्रयास गरेका छौँ”, निर्देशक भट्टराईले भने। 

यसअघि सती प्रथाको कथामा चलचित्र ‘झोला’ निर्माण गरेका भट्टराईले झोलापछि दाइजोविरोधी चलचित्र ‘भोर’ निर्माण गरेका थिए।

झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार गरेका हुन्।

यस फिल्मका कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशिला आचार्य र निर्माण सहायक रामगोपाल थापा हुन्। 

चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, सम्पादन निमेश श्रेष्ठ, गीत आनन्द अधिकारी, सङ्गीत चण्डीप्रसाद काफ्ले र दिपक शर्मा, गायन शिव परियार र निशा देशार, मुख्य सहायक निर्देशन आकाश उखेडा, निर्माण नियन्त्रक दिलिप पन्त, सहायक निर्देशन अनिश बुढाथोकी, सह सम्पादन नारायण गैरे, मुख्य सहायक छायाङ्कन विवेक लामाको छ। 

भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न स्थानमा छायाङ्कन गरिएको यो फिल्म आगामी पुस ५ देखि प्रदर्शनमा आउने छ।

असोज १२, २०८१ आइतबार १४:५४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।