झ्याप्लेखोला दुर्घटनामा एकै परिवारकी आमासहित कक्षा १० मा अध्ययनरत छोराछोरीको मृत्यु

झ्याप्लेखोला दुर्घटनामा एकै परिवारकी आमासहित कक्षा १० मा अध्ययनरत छोराछोरीको मृत्यु

बुटवल : रुपन्देहीको बुटवलबाट शुक्रबार बिहान काठमाडौं जान भनी बुटवलका दिपेश भट्टराई, दिपिका भट्टराई माइक्रोबस चढे। साथमा आमा सीता भट्टराई पनि सँगै थिइन्।

सिमसिम परिरहेको पानीका बाबजुद तीन जनाले काठमाडौंको गन्तव्य पछ्याए। अविरल बर्षा भए पनि सीता भट्टराई आफ्ना छोराछोरीको ‘सपना साकार बनाउन’ उनीहरूलाई लिएर काठमाडौं जाँदै थिइन्।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत जुम्लाह दाजुबहिनी दिपेश र दिपिका यही १७ गते काठमाडौंमा हुन लागेको एक कार्यक्रममा जाँदै थिए।

उक्त कार्यक्रमपछि केही दिनमै उनीहरू नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिन बंगलादेश जाँदै थिए। पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो।

तर, विडम्बना उनीहरूको सपना अविरल बर्षासँगै धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरियो। उनीहरू चढेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा उनीहरूसँगै सवार १४ जनाको मृत्यु भयो।

स्याङ्जाको गल्याङ नगरपालिका-३ स्थायी घर भई बुटवल बस्दै आएका दिपेश दिपिकाले अनलाइन फाराम भरेरै बंगालादेशको उक्त कार्यक्रममा जाँदै थिए।

पढाइमा तेज रहेका दाजुबहिनी २ महिनाअघि मात्र बंगलादेशको कार्यक्रममा जान छनोट भएको कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्राचार्य दिनेश थापाले बताए।

‘बंगलादेशमा खगोलशास्त्र सम्बन्धी कार्यक्रममा जाने तयारीमा थिए। त्यसैको एउटा चरणको कार्यक्रममा सहभागी हुन काठमाडौं जाँदै गर्दा दुःखद् घटना भयो। विद्यालयले दुई असल विद्यार्थी गुमाउनु पर्दा निकै दुःखी छु’, उनले भने।

विद्यालयका हरेक गतिविधिमा सहभागिता जनाउने दिपेश, दिपिका साहित्यमा अझ बढि रुची राख्ने उनले बताए। बाल क्लबको सचिव, अध्यक्ष भएर काम गरिसकेका अशल विद्यार्थीहरुको छवि बनाएका उनीहरु एसईईमा ४ जिपिए ल्याउन सक्ने विद्यार्थीमा पर्थे।

पहिरोमा पुरिएका दिपेश, दिपिका र आमा सीतमाध्ये सिता र दिपेशको पहिचान भइसकेको छ। दिपिकाको अझै पहिचान भइसकेको छैन।

दिपेश, दिपिकाका बुवा होमनाथ भने कोरियामा छन्। उनीहरू आमा सीतासँगै बुटवलमा बस्थे। श्रीमती र दुई छोराछोरीको शिक्षा दिक्षाका लागि होमनाथ कोरियामा केही वर्षदेखि थिए। कोरियामा रहेका होमनाथले श्रीमती सीतासहित दिपेश र दिपिका सवार गाडी पहिरोले पुरिएको खबर पाइसकेका छन्।

सीताका मामा ससुरा नगेन्द्रराज पाण्डेयले घटनाको सबै विवरण होमनाथलाई थाहा भएको बताए।

‘छोराछोरीको सपना लिएर हिडेकी सीतासहित तीन जनाको दुःखद् निधनले हामी सम्हालिन सकेका छैनौँ। विपत्तिले हामीलाई ठग्यो’, उनले भने।

विद्यालयका शैक्षिक संयोजक दिपक बञ्जाडे नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ को पहिलो सेसन सकिएर दोस्रो चरणमा बंगलादेश जाने तयारीको लागि उनीहरू काठमाडौं गएको बताए।

सोही माइक्रोबसमा सवार बुटवलका सेमलारका प्रकाश कुंवर र सिर्जना कुंवर, गुल्मीको चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको पनि मृत्यु भएको छ। १४ जनामध्ये सबैको अझै पहिचान खुलिसकेको छैन।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समूहका गरी सात जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार विहान उक्त जिपमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउण्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर ३ जना चढेका थिए।

यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा चार जनाको मात्रै नाम उल्लेख गरिएको छ। ती मध्ये, बोम, कार्की र प्रकाश कुँवर मात्रै उल्लेख गरिएको छ। 

असोज १२, २०८१ आइतबार १४:३०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।