नसरल्लाहको मृत्युपछि इजरायलका प्रधानमन्त्री नेतन्याहु र अमेरिकी राष्ट्रपति बाइडेनले के भने?

नसरल्लाहको मृत्युपछि इजरायलका प्रधानमन्त्री  नेतन्याहु र अमेरिकी राष्ट्रपति बाइडेनले के भने?

एजेन्सी : इजरायली आक्रमणमा हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्युको पुष्टिपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिक्रिया दिएका छन्।

नसरल्लाहको मृत्युपछि बोलेका प्रधानमन्त्री नेतान्याहुले यसलाई ‘ऐतिहासिक मोड’को रूपमा अर्थ्याएका छन्। असंख्य इजरायली र धेरै विदेशी नागरिकहरूको मृत्युको लागि जिम्मेवार व्यक्तिलाई मारेपछि हिसाब बराबर भएको बताएका छन्।

नेतान्याहुले इजरायल आफ्ना शत्रुमाथि आक्रमण जारी राख्न कटिबद्ध रहेको दोहोर्याउँदै हसन नसरल्लाहलाई निशाना बनाउन आईडीएफलाई निर्देशन दिएको पनि बताए।

उनले नसरल्लाहको मृत्यु इजरायलको लक्ष्य प्राप्तिका लागि ‘सबैभन्दा महत्वपूर्ण शर्त’ भएको पनि बताए।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले विगत चार दशकको आतंकमा हसन नसरल्लाह र उनको नेतृत्वमा रहेको आतंकवादी समूह हिजबुल्लाह सयौं अमेरिकीहरूको हत्याका लागि जिम्मेवार भएको भन्दै नसरल्लाहको मृत्यु हजारौं अमेरिकी, इजरायली र लेबनानी नागरिकहरू सहितका धेरै पीडितहरूका लागि न्याय भएको बताए।

बाइडेनले थप भने, ‘संयुक्त राज्य अमेरिकाले इजरायलको हिजबुल्लाह, हमास, हुथी र इरानद्वारा समर्थित अन्य आतंकवादी समूहहरू विरुद्ध आफ्नो रक्षा गर्ने अधिकारलाई पूर्ण समर्थन गर्दछ।’

आफूहरूको उद्देश्य गाजा र लेबनानमा जारी द्वन्द्वलाई कूटनीतिक माध्यमबाट कम गर्ने भएको भन्दै बाइडेनले इजरायल र दक्षिणी लेबनानका स्थानीयलाई सुरक्षित रूपमा फर्काउन वार्ताको तयारी भइरहेको बताएका छन्।

असोज १२, २०८१ आइतबार ११:५०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।