कुलेखानी ड्यामका ढोका बन्द, २४ सै पूर्ण क्षमतामा विद्युत् उत्पादन

कुलेखानी ड्यामका ढोका बन्द, २४ सै पूर्ण क्षमतामा विद्युत् उत्पादन

मकवानपुर : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी जलविद्युत केन्द्रको जलाशयको पानी कम हुँदै गएपछि ड्यामका ढोका बन्द गरिएको छ।

अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान साढे पाँच बजेदेखि ड्यामका २ वटा ढोका खोलिएको थियो।

ढोका खोलेर जलाशयको पानी निकाशा गरेको करीब १२ घण्टापछि दुबै ढोका बन्द गरिएको कुलेखानी जलविद्युत केन्द्र प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए। 

जलाशय भरिएर १ हजार ५ सय ३१ मिटर पुगेर ओभरफ्लो हुन थालेपछि ड्यामको दुवै ढोका साढे ४ मिटरसम्म खोलिएको थियो।

कुलेखानीको जल सतह बिहान ९ बजेर ४० मिनेट जाँदा एक हजार पाँच सय २८ दशमलव ४८ सेन्टिमिटर रहेको प्रमुख भट्टले जानकारी गराए। जलाशयको भण्डारण क्षमता एक हजार पाँच सय ३० मिटर रहेको छ।

नेपाल विद्युत प्राधिकरणको ‘व्याकअप’ मानिने यस केन्द्रबाट अहिले २४ सै पूर्ण क्षमतामा विद्युत् उत्पादन भैरहेको छ। कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ।

असोज १२, २०८१ आइतबार ११:२३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।