सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

सुनसरी : सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ। 

विहान तीन बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो।

शनिबार बेलुका १०ः२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो।

कोशी ब्यारेज कन्ट्रोल रुमले गए राति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११ दशमलव २६ मिटरमाथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको जनाएको छ।

पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन्। 

सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ।

लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

असोज १२, २०८१ आइतबार ०८:४३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।