नसरल्लाह मारिएपछि लेबनानमा शोको माहोल, इरानी सेना लेबनान पठाउने तयारी

नसरल्लाह मारिएपछि लेबनानमा शोको माहोल, इरानी सेना लेबनान पठाउने तयारी

एजेन्सी : हिजबुल्लाह प्रमुख हसन नसरल्लाह लेबनानको राजधानी बेरुतमा सेप्टेम्बर २७ मा इजरायली हवाई आक्रमणमा मारिएका छन्।

इरान समर्थित संगठन हिजबुल्लाहले शनिबार साँझ यसको पुष्टि गरेको छ। नसरल्लाहको मृत्युपछि शनिबार दिउँसोदेखि बेरुतको बुर्ज अल गजल पुल नजिकै ट्याङ्कहरू तैनाथ गरिएको छ।

झडपको आँकलनपछि सेना परिचालन
हिजबुल्लाह प्रमुखको हत्यापछ शिया मुस्लिम र ईसाई समुदायहरूबीच झडप हुनसक्ने आँकलनका साथ लेबनान सरकारले ठूलो संख्यामा सेना परिचालन गरेको छ। नसरल्लाहको मृत्युपछि लेबनान र इरानमा शोकको वातावरण छ।

यसैबीच इरानका सर्वोच्च कमाण्डर आयतोल्लाह अली खामेनीले विश्वभरका मुस्लिमहरूलाई हिजबुल्लाहको समर्थनमा एकजुट हुन अपिल गरेका छन्। इजरायललाई रोक्न कति सक्षम हुन्छौँ भन्नेमै मध्यपूर्वको भविष्य निर्धारण हुने उनको भनाइ छ।

न्युयोर्क टाइम्सका अनुसार नसरल्लाहपछि उनका काका हासेम सफीद्दीन हिजबुल्लाहको अर्को प्रमुख बन्न सक्छन्। सेप्टेम्बर २७ मा, इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा ८० टन बमले आक्रमण गरेको थियो। यसले एकैपटक छ वटा भवन ध्वस्त बनाएको थियो।

महिनौंदेखि थाहा थियो नरसल्लाहको लोकेसन
न्युयोर्क टाइम्सका अनुसार इजरायलले नसरल्लाहको स्थानबारे महिनौंदेखि जानकारी थियो। नरसल्लाह केही दिनमा अर्को ठाउँमा सर्नसक्ने भएकाले उनीहरूले एक साता अगाडि नै आक्रमणको योजना बनाएका थिए।

शुक्रबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्र संघमा भाषण दिएपछि आफ्नो होटलको कोठाबाट हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्न अनुमति दिएको समाचारमा उल्लेख छ।

नसरल्लाहको मृत्युको खबर फैलिएपछि बेरुतमा शोकको माहोल छाएको छ। इजरायली आक्रमणबाट घरबारविहीन बनेपछि मस्जिदको सिँढीमा बसेर एक महिलाले रुँदै भनिन्- ‘उनी गइसके। सैयद गए।’

इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीले देशमा ३ दिने शोकको घोषणा गरेका छन्।

लेबनान पठाइँदै इरानी सैनिक
इरानको विदेश मन्त्रालयका अधिकारी आयतोल्लाह मोहम्मद अख्तारीले आगामी दिनमा इरानले लेबनान र सिरियामा सेना पठाउने तयारी गरिरहेको बताएका छन्। यसका लागि दर्ता पनि सुरु भइसकेको छ।

‘वरिष्ठ अधिकारीहरूले छिट्टै गोलान हाइट्समा सेना तैनाथ गर्ने अनुमति दिनेछन्। हामी सन् १९८१ मा जस्तै इजरायलसँग लड्न लेबनानमा पनि सेना पठाउन सक्छौँ’, अख्तारीले भने।

बीबीसीका अनुसार इजरायल र हिजबुल्लाहबीच ११ दिनदेखि जारी द्वन्द्वका बीच हजारौं लेबनानी घरबारविहीन भएका छन्। संयुक्त राष्ट्र एजेन्सीले लेबनानमा मानिसहरूलाई आश्रय प्रदान गर्न पाँच सय आश्रयस्थलहरू निर्माण गरेको छ।

दक्षिण लेबनानमा बम विष्फोटका कारण घरबारविहीन भएका हजारौं मानिसहरू सडकमा, कारहरूमा र पार्कहरूमा सुतिरहेका छन्।

असोज १२, २०८१ आइतबार ०८:२६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।