क्यानडासँग टी-२० त्रिकोणात्मक श्रृंखलामा पनि हार्‍यो नेपाल, १४ रनले पराजित

क्यानडासँग टी-२० त्रिकोणात्मक श्रृंखलामा पनि हार्‍यो नेपाल, १४ रनले पराजित

काठमाडौं : टी-२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ।

क्यानडाको किङ्ग सिटीमा गएराति टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनाएको थियो।

एक सय २४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय नौ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए। यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाए।

बलिङतर्फ क्यानडाका कलिम सानाले चार, साद बिन जाफरले तीन तथा प्रविन कुमार र अखिल कुमारले एक/एक विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गर्दै क्यानडाका लागि साद बिन जाफरले १८ बलमा तीन चौकासहित २३ रन बनाए। यस्तै श्रेयस मोभ्भाले २२, प्रविन कुमारले १९, नवनित धालिवालले १४ तथा अखिल कुमारले १४ रन जोडे।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले तीन/तीन तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले एक/एक विकेट लिए। नेपालले दोस्रो खेल अब आज राति ओमानसँग खेल्नेछ।

यसअघि भएको लिग-२ सिरिजमा पनि नेपालले चारमध्ये तीन खेल हारेको थियो भने एक खेल रद्द हुँदा अंक बाँडेको थियो।

असोज १२, २०८१ आइतबार ०७:५२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।