मौसम पूर्वानुमान : मौसममा आंशिक सुधार, छैन भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : मौसममा आंशिक सुधार, छैन भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ।

आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ।

ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ।

नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिए। उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए।

महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने महाशाखाले जनाएको छ। 

असोज १२, २०८१ आइतबार ०७:३७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।