काठमाडौं उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामसहित)

काठमाडौं उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामसहित)

काठमाडौं : बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौं उपत्यकामा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ। 

मृत्यु भएकामध्ये आज साँझसम्म २७ जनाको सनाखत भएको छ। अझै सात जनाको सनाखत हुन बाँकी छ। 

बाढी पहिरोमा परी काठमाडौंको दक्षिणकाली नगरपालिका-८ का ४३ वर्षीय भविन्द्र लिम्बू, सोही ठाउँका ४० वर्षीय कुमार तामाङ र २३ वर्षीया मनु तामाङ, दक्षिणकाली-९ का ३७ वर्षीय प्रेम बलामी र सोही ठाउँका ३४ वर्षीय कान्छा बलामी, दक्षिणकाली-७ का ५० वर्षीया देवी लिम्बुको मृत्यु भएको छ। 

उनीहरुको घरमा बसिरहेको अवस्थामा पहिरोमा परेको कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए। 

यस्तै, नागार्जुन नगरपालिका-६ इचङ्गुनारायण बस्ने सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपलिका-२ का अन्दाजी ४५/४५ वर्षका सचिन साह, चन्द्रागिरी नगरपालिका-२ मसिनेका ३८ वर्षीय गर्व तामाङ र उनकी श्रीमती ३६ वर्षीया सबिनाको पनि मृत्यु भएको छ। दुवै जना घरमा बसिरहेका थिए। 

अर्घाखाँची घर भई कीर्तिपुर बस्ने २४ वर्षीय अजय पाण्डेको वर्षाका कारण ढलेको रुखमा मोटरसाइकल ठोक्किदा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। हालसम्म नामथर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षका पुरुष व्यक्तिको मृत्यु भएको छ। 

भक्तपुरको सूर्यविनायक नगरपालिका-९ पलासेस्थित सूर्यमोडमा पहिरोले टहरो बगाउँदा कालीकोट सानी त्रिवेणी नगरपालिका-५ की २४ वर्षीया बमिला शाही, उनकी १४ वर्षकी बहिनी मनिशा शाही र उनको चार वर्षको छोरी श्रीया बमको मृत्यु भएको छ। बमिला नौ महिना पुगेको गर्भवती भन्ने बुझिएको प्रहरीले जनाएको छ। 

सूर्यविनायक-८ आशापुरी नैचाल बस्ने ५० वर्षीय मसली तामाङ र उनकी ३७ वर्षीया बहिनी मनु तामाङको पनि पहिरोमा परी मृत्यु भएको छ। 

ललितपुरको गोदावरी नगरपालिका-१० टाखेल निवासी ५८ वर्षीया सानु चालिसे र गोदावरी-९ चुनिखेल घर भइ हाल सोही ठाउँ बस्ने वर्ष ४८ की सुशीला लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ। 

यस्तै, महाङ्काल गाउँपालिका-३ माथिल्लो गोटिखेल निवासी राजकुमार सिङतानको घर पुरिँदा उनको दुई वर्षीय छोरा सम्यमको मृत्यु भएको छ। 

गोदावरी नगरपालिका-९ छम्पीस्थित भैंसेपाटी-टीकाभैरव सडक खण्डमा माथिबाट पहिरो आई बाटो अवरोध भएको र सोही स्थानमा सिन्धुली घर भइ हाल सोही स्थानमा टहरो बनाई बस्ने ४२ वर्षीया सुनिता तामाङको पुरिएर मृत्यु भएको छ। गोदावरी-३ स्थित ३५ को पवन नगरकोटीको टहरोमाथिबाट पहिरो झर्दा पवन र उनको २० वर्षीया छोरी मेन्सिलाको पनि मृत्यु भएको छ। 

ललितपुर महानगरपालिका-२५ तालिम केन्द्र नजिकका ६६ की ताराराज कनिकाको घरमाथिबाट आएको पहिरोले बगाएर मृत्यु भएको छ। 

महालक्ष्मी नगरपालिका-९ सिस्नेरी ठकुरीगाउँकी ३५ वर्षीया रिना महिमकर्मी श्रेष्ठको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। सोही ठाउँको सिस्नेरी खोलामा बस्ने ४४ वर्षीय रवीन भुजेलको खोलाले बगाएर मृत्यु भएको छ। 

ललितपुर महानगरपालिका-१४ कार्नतिपुर कलौनीमा रौतहटका २७ वर्षीय नन्दु साहको नख्खु खोलाले बगाएर मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका-८ शङ्खादेवीमा पहिरोमा पुरिएर घाइते भएकी ६१ वर्षीया राधिका थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्। बाढीपहिरो तथा डुबानमा परेका एक हजार तीन सय १५ जनालाई उद्धार गरिएको एसएसपी घिमिरेले बताए। 

बाढीपहिरोबाट काठमाडौंमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ। 

काठमाडौंमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन्। 

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० जना प्रहरी खटिइएको उपत्यका प्रहरीका कार्यालयले जनाएको छ। 

असोज ११, २०८१ शनिबार १९:१२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।