काठमाडौं उपत्यकाका दुई हजार घर डुबानमा, ३४ जनाको मृत्यु

काठमाडौं : बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ। हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्। बाढीपहिरो तथा डुबानमा परेका एक हजार तीन सय १५ जनाको उद्धार गरिएको छ।
बाढीपहिरोबाट काठमाडौंमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ।
काठमाडौंमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन्।
विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० प्रहरी खटिइएको एसएसपी घिमिरेले बताए।
असोज १२, २०८१ शनिबार १८:०५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।