साफ यू-१७ च्याम्पियनसिपमा नेपालको यात्रा सकियो, सेमिफाइनलमा भारतसँग ४-२ गोलले हार्यो

साफ यू-१७ च्याम्पियनसिपमा नेपालको यात्रा सकियो, सेमिफाइनलमा भारतसँग ४-२ गोलले हार्यो

काठमाडौं : नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४-२ गोल अन्तरले पराजित भएको हो।

भारतको जितमा भिजल यादवले दुई गोल गर्दा ऋषी सिंह र हेम्नेइचुंगले एक एक गोल थपेका थिए। नेपालमा कप्तान सुवास बमले एक गोल फर्काउँदा एक गोल उपहार पाएको थियो। 

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले ६१ औं मिनेटमा पहिलो गोल बेहोरेको थियो।

दायाँतर्फबाट आएको क्रसमा भारतका सुमित शर्माले हेडर गरेका थिए। नेपाली गोलरक्षक पेम्बा नोर्वुले बल बचाउन सफल भए पनि सम्हाल्न सकेनन् र भिजल यादवले गोलरक्षकको खुट्टाबीचबाट बललाई गोलपोष्टमा पठाए।

केही समयपछि पुनः भिजल यादवले ६८ औं मिनेटमा फ्रीकिकबाट आएको बललाई सुमितले हेडमार्फत प्रहार गरेपछि नेपाली गोलरक्षकले पुनः बचाउने प्रयास गरे पनि भिजलले रिबाउन्डमा दोस्रो गोल थपेका थिए।

नेपालले खेलमा फर्कने प्रयास गर्दै ८३औं मिनेटमा सुवास बमको गोलमार्फत टोलीलाई आशा जगायो। टिममूभबाट आएको यो गोलले नेपाललाई खेलमा फर्कने सम्भावना कायमै राखेको थियो।

तर, भारतका नरेश सिंह (एनरिषी सिंह)ले ८५ औं मिनेटमा गोल गर्दै अग्रता ३-१ बनाएका थिए। 

नेपाली टोलीले ८९ औं मिनेटमा भारतबाट एक गोल उपहार पायो। भारतका मोहमद क्याफले आफ्नै पोस्टमा गोल गरेपछि नेपालको अग्रता ३-२ भएको थियो।

खेलको इन्जुरी टाइमको पनि अन्तिमतिर भारतका हेम्नेइचुंगले टिमका लागि चौथो गोल थप्दै अन्ततः खेलको नतिजा ४-२ ले आफ्नो पक्षमा पारे। 

भारतले अब उपाधिका लागि पाकिस्तान र बंगलादेशको विजेतासँग सोमबार खेल्ने छ।

असोज ११, २०८१ शनिबार १७:०१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।