बाढी र पहिरोमा परेर बिहीबारदेखि देशभर १० जनाको मृत्यु, ११ जना बेपत्ता

बाढी र पहिरोमा परेर बिहीबारदेखि देशभर १० जनाको मृत्यु, ११ जना बेपत्ता
फाइल तस्बिर

काठमाडौं : बिहीबारदेखि सुरु भएको अविरल बर्षापछि आएको बाढी र पहिरोका कारण देशभर १० जनाको मृत्यु भएको छ।

११ जना बेपत्ता भएका छन् भने सयौंको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

पाँचथर जिल्लाको विभिन्न ठाउँमा दुई जनाको मृत्यु भएको छ। धनकुटामा पहिरोको कारण दुई जना बेपत्ता, दुई जनाको मृत्यु भएकाे छ।

यसैगरी झापामा एक जनाको मृत्यु भएको छ भने जिल्लाका विभिन्न ठाउँमा डुबानमा परेका ३ सय २५ जनाको सकुशल उद्धार गरेको छ।

मोरङका विभिन्न ठाउँहरूमा डुबानमा परि ५८ स्थानहरूमा भौतिक क्षति भएको छ। यहाँबाट १ सय ७६ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।

यसैगरी रौतहटका १० स्थाहरुमा डुवानमा परी भौतिक क्षति भएको छ भने उद्धारका लागि सशस्त्र प्रहरीले १५ जना सुरक्षा फौज परिचालन भएको छ।

धादिङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। दुई जनाको सकुशल उद्धार गरिएको छ।

सिन्धुलि जिल्लामा आएको बाढिले ५ स्थानहरुमा भौतिक क्षति भएको छ भने ११ जनाको सुरक्षा फौज परिचालन भई ३३ जनाको सकुशल उद्धार गरेको छ।

यसैगरी काभ्रे जिल्लामा आएको पहिरोमा परि तीन जनाको मृत्यु, सात स्थानहरुमा भौतिक क्षति भएको छ उद्धारका लागि १५ जनाको सुरक्षा फौज परिचालन भएका छन्।

यसैगरी काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा आएको बाढीका कारण एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् भने १ हजार ४ चार ७४ जना सुरक्षा फौज परिचालन भई २ सय २४ जनाको सकुशल उद्धार गरेका छन्।

यसैगरी ललितपुर जिल्लाका विभिन्न ठाउँहरुमा आएको पहिरोले एक जनाको मृत्यु, ६ जना बेपत्ता भएका छन् भने दुई स्थानहरूमा भौतिक क्षति भएको छ।

असोज ११, २०८१ शनिबार ११:२९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।