काठमाडौं उपत्यकाका नदी करिडोरका सडक बन्द, माइतीघर मण्डला र न्यूप्लाजा अगाडि समेत अवरोध

काठमाडौं उपत्यकाका नदी करिडोरका सडक बन्द, माइतीघर मण्डला र न्यूप्लाजा अगाडि समेत अवरोध

काठमाडौं : अविरल वर्षाको प्रभाव बागमती प्रदेशमा बढी परेको छ। गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रूपमा बागमती प्रदेश बढी प्रभावित भएको हो।

खासगरी काभ्रेपलाञ्चोक, काठमाडौं र ललितपुरमा क्षतिका घटना भएको गृह मन्त्रालयले जनाएको छ। यस्तै बागमती, विष्णुमति, मनोहरा, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन्।

सबै खोलामा करिडोर सडकमा पानी उक्लिन थालेको छ। माइतिघर मण्डलाको बाटो र न्युप्लाजा अगाडिको बाटोसमेत अवरोध भएको छ।

यसैगरी काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित सुकुम्बासी क्षेत्रमा अविरल बर्षाका कारण बागमती नदीमा पानीको बहाब निरन्तर बढिरहेको छ।

पानीको बहाबले सुकुमबासी क्षेत्रमा भएको १४१ घरधुरी डुबाएको छ। थापाथलीदेखि रोज बट स्कूलसम्म पूर्वरूपमा बाटो अवरोध भएको छ। प्रहरीले चार बालबालिका र एक वृद्धसहित पाँच जनालाई गरिरहेको छ।

यसैगरी कलंकी, कपन क्षेत्रपनि डुबानमा परेको छ। काठमाडौंको नागार्जुन नगरपालिका–८ नर्सरी धारानजिक सडकखण्ड, तार्केरश्वर नगरपालिका कार्यालय अगाडि धर्मस्थलीबाट तारकेश्वर नगरपालिका–३ तिनपिप्ले जाने बाटोमाथिबाट पहिरो गई बाटो अवरुद्ध भएको छ।

यसैगरी वीपी राजमार्ग, पृथ्वी राजमार्गलगायतका यस क्षेत्रका साना र ठूलागरी धेरै सडक अवरुद्ध छन्। अन्य प्रदेशमा पनि राजमार्ग अवरुद्ध तथा खोला र नदी किनारका खेतीयोग्य जमिन कटानका थुप्रै घटना भएका छन्। अहिले अन्य भागको तुलनामा सुदूरपश्चिम र कर्णालीमा सामान्य पानी परेको छ।

मुलुकका अहिले विभिन्न नदीले जलसतहका हिसाबले २२ वटा नदीले खतराको सीमा पार गरेको छन् भने १४ वटा चेतावनीको अवस्थामा रहेका छन्।

जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ। आज देशभर वर्षा भइरहेको छ। महाशाखाले सबै नागरिकलाई वर्षाको समयमा अत्यावश्यक अवस्थाबाहेक घर बाहिर र नदी किनारमा नजान अनुरोध गरेको छ।

असोज ११, २०८१ शनिबार १०:४२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।