एसी मिलानले शीर्ष स्थानको टोरिनोसँग अंक बराबरी गर्यो

एसी मिलानले शीर्ष स्थानको टोरिनोसँग अंक बराबरी गर्यो

काठमाडौं : इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्ष स्थानको टोरिनोसँग अंक बराबरी गरेको छ।

शुक्रबार राति भएको खेलमा लिचेविरुद्ध ३-० गोलको एकतर्फी जित दर्ता गर्दै तालिकामा तीन अंक थपेको हो। तालिकामा टोरिनो र एसी मिलान दुवैको समान ११ अंक भएको छ। मिलानले १ खेल बढी खेलेको छ।

एसी मैदानले आफ्नै घरेलु मैदानमा पहिलो हाफको अन्त्यतिर आक्रमक खेल खेल्दै ३ गोल थपेको थियो। मिलानका अल्भारो मोराटा, थियो हर्नान्डेज र क्रिष्टियन पुलिसीले एक-एक गोल गरे।

३८औं मिनेटमा मोराटाले हर्नान्डेजको पासमा गोल गर्दै टिमको खाता खुलाएका थिए। ४१औं मिनेटमा हर्नान्डेजले राफेल लिओको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।

त्यसको २ मिनेटपछि पुलिसीले गोल गरेपछि एसी मिलान पहिलो हाफमा ३-० को अग्रतासहित सहज अवस्थामा पुगेको थियो। दोस्रो हाफमा दुवै टिमबाट थप गोल हुन नसक्दा एसिमिलान विजयी भयो।

तर, ८०औं मिनेटमा एसी मिलान १० खेलाडीमा समेटिए पनि त्यसको फाइदा लिचेले लिन सकेन। ७५औं मिनेटमा हर्नान्डेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका डेभिड बार्तेसाघीले ८०औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाड्दा एसी मिलान १० खेलाडीमा समेटिएको थियो।

असोज ११, २०८१ शनिबार १०:१०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।