जातका कुरा : जतिसुकै राम्रो काम गरेपनि 'दलित मन्त्री' भनेर मिडियाका क्यामेराहरू कहिल्यै मतिर तेर्सिएनन्
सौन्दर्य जात विशेष हुन्छ? वा भनौँ, कुनै महिला जात भएकै कारण 'सुन्दर' र कोही कुनै जात विशेष भएकै कारण 'कुरूप' हुन सक्छन् र? सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मी विकको अनुभवले भन्छ- सक्छन्।
अनि जात विशेष नाम पनि हुन्छ? यसको जवाफमा लक्ष्मी भन्छिन्- 'नाम पनि जात विशेष हुन्छ, कमसेकम मेरो अनुभवमा।'
आजभन्दा २४ वर्षअगाडि, कञ्चनपुरस्थित लक्ष्मीको घरमा प्रौढ शिक्षा पढ्न गाउँका धेरैजसो महिलाहरू भेला हुन्थे। त्यो घरमा गाउँलेहरूलाई पायक पनि पर्ने अनि कोठा पनि उपलब्ध भएकाले प्रौढ शिक्षाको लागि माहोल गज्जब थियो।
एक दिन भएछ के भने, प्रौढ शिक्षा पढ्न आएकीमध्ये एक जना पन्त थरकी महिलाले लक्ष्मीकी आमालाई लक्ष्मी र उनका भाउजूतिर देखाउँदै सोधिछन्, यिनीहरू चैँ को हुन्?
लक्ष्मीकी आमाले भनिन्, 'यो मेरी छोरी अनि यी दुईवटी बुहारी।'
ती महिलाले प्रतिप्रश्न गरिन्, 'हेर्दा बाहुनीजस्ता छन् त! साँच्चै यी कमिनीहरू नै हुन् र?'
लक्ष्मीकी आमाले जवाफ फर्काइनन्।
तर, लक्ष्मीको किशोर मष्तिष्कमा एउटा प्रश्न जन्मियो, बाहुनी हुनेबित्तिकै राम्री हुने अनि कमिनी भनेको चैँ नराम्री नै हुनुपर्ने?
ती महिलाले पछि फेरि सोधिन्, अनि यिनीहरूको नाम नि?
लक्ष्मीकी आमाले बुहारीतिर देखाउँदै भनिन्, जेठी बुहारी गीता, माइली बुहारी पार्वती अनि यो छोरी चैँ लक्ष्मी।
यत्ति सुन्नासाथ बज्यैसमेत (पुरोहितकी श्रीमती) रहेकी ती महिलाले भनिहालिन्, 'अहो! तिमीहरू तल्लो जातले पनि देवीहरूको नामबाट आफ्नो नाम राख्न मिल्छ त? पाप लाग्छ नि! हानी हुन्छ।'
ती महिला गाउँकै टाठाबाठा मध्येकी एक थिइन्। भर्खर बैतडीबाट बसाइसराइ गरेर त्यहाँ आएकी भए पनि उनको राम्रै चल्थ्यो, बज्यै भएकाले। सबैले मान्थे पनि।
ती महिलाले त्यसो भनेपछि लक्ष्मीले बेल्का घरमा आमालाई सोधिन्, 'अघि ती बज्यैले किन त्यस्तो भनेकी आमा?'
जवाफमा आमाले 'यस्तै छ हाम्रो समाज, मान्छेहरूको सोच' भन्ने कामचलाउ जवाफ दिइन्। तर, लक्ष्मीको मनमा ती बज्यैले के भनेकी होलिन् कुरा खेलिरह्यो।
तर, लक्ष्मीलाई यी प्रश्नको जवाफ पाउन लामो समय कुर्नुपर्यो। राजनीतिमा लागेर समाज अध्ययन गर्न थालेको धेरैपछि मात्र उनले बुझिन्- 'नेपाली समाजमा सौन्दर्य मूल्य र नामसमेत पनि जात विशेष हुने रहेछ।'
फेरि पनि यो सन्दर्भ यत्तिकैमा सकिँदैन। राजनीतिमा लागेको लामो संघर्षपछि लक्ष्मी गएको असारमा सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री बनिन्। मन्त्री बनेपछि आफ्नो थाकथलो नजाने कुरै थिएन। उनी त्यहीँ आफ्नो गाउँ भीमदत्त वडा नम्बर १४ गइन्, सुदूरपश्चिमको मन्त्रीको रूपमा।
सायद, मन्त्री भएको भएर होला, त्यहीँ गाउँमा तिनै प्रौढ शिक्षा पढ्न आउनेहरूले लक्ष्मीलाई स्वागत गरे, फूलमालासहित। उमेरले ७० को दशकमा पुगेकी ती बज्यै त स्वागत कार्यक्रममा आउन सकिनन्।
तर, अलिपछि लक्ष्मीकी आमालाई भनिछन्, 'तिम्री छोरी ठूली मान्छे बनिछिन्, धन्यवाद, बधाई। सधैँ राम्रो होस्।'
OOO
-राजनीतिमा लागेर पाएको आत्मसन्तुष्टिलाई व्यक्त गर्न सकिँदो रहेछ?
सकिन्छ नि! मलाई एउटा घटना याद आउँछ के, यो प्रश्न सुन्दा। कक्षा ६ मा पढ्दा पूर्वव्यावसायिक शिक्षाको पकौडा बनाउने प्राक्टिकल थियो। मलाई शिक्षकले 'तिम्ले चैँ परैबाट हेर है' भन्नुभाको थियो। किनकि त्यो कक्षमा म मात्रै दलित थिएँ। मलाई परैबाट हेर भनेपछि रिस उठ्यो। अनि मैले त भान्सा छेउमै गएर बेसन र पानी मिसाइदिए। अन्तिममा केही शिक्षिका र केही विद्यार्थीहरूले त्यो पकौडा खाएनन्।
तर, खुसीको कुरा के रह्यो थाहा छ? त्यही विद्यालयका शिक्षक र कर्मचारीहरूले म मन्त्री बनेपछि आएर फूलमाला लगाइदिए। स्वागत गरे। अनि पूर्वविद्यार्थी मन्त्री भएको भन्दै एउटा कार्यक्रम आयोजना गरेर सम्मान गरे।
कतिसम्म भने, तिनै 'लक्ष्मीले त्यो पकौडाको भाँडो नछोएर परैबाट हेरेर सिक' भन्नेहरूले पनि सम्मान गरे। त्यहीबेला हो, गर्वले छाती फूलेको।
OOO
४१ वर्षअघि कञ्चनपुरको भिमदत्तमा जन्मिएकी हुन्- आशा विक। स्थानीय बजिनाथ निमाविमा-८ कक्षासम्म पढेकी उनले सरस्वती माविबाट ०५९ सालमा एसएलसी दिइन्। त्यसपछि सिद्दनाथ बहुमुखी क्याम्पसबाट प्लसटु र स्नातक सकेकी उनी अहिले भारतको तिरौतागढको एक विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययनरत छिन्।
लक्ष्मीकी आमा ०५६ को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट वडा सदस्य निर्वाचित भएकी थिइन्। विजय उत्सव मनाउने निर्णय भयो। त्यसबेला लक्ष्मी आमासँगै थिइन्। विजय उत्सवबारे पार्टीको बैठकमा निर्णय भएको थियो- दलित समुदायलाई चन्द्रा कमरेडकहाँ (लक्ष्मीकी आमा चन्द्रा विक) भोज खुवाउने अनि गैरदलितलाई चाहिँ अध्यक्ष्यको घरमा भोज गराउने। अर्कोपटक लक्ष्मीको मनमा चिसो पस्यो।
'चुनावी अभियानको क्रममा तिनै वडा अध्यक्षले हामी कम्युनिस्ट हौं, जातिपाती मान्देनौं भनेको सुनेको थिएँ, चुनावपछि त्यस्तो व्यवहार देखेपछि दिक्क लाग्यो,' लक्ष्मीले सम्झिन्, 'मेरी आमा एमालेको प्रशिक्षणमा विद्यादेवी भण्डारीले आफ्नो हातको पानी खाएको भनेर दंग पर्नुहुन्थ्यो। त्यो सुन्दा मलाई पनि खुसी नै लाग्थ्यो, तर चुनावमा त्यसरी छुट्टै विजय भोज गरेको मनै परेन।'
त्यसपछि नै हो, लक्ष्मीले आमाको पार्टी एमाले छाडेर राष्ट्रिय जनमोर्चा प्रवेश गर्ने निर्णय गरेको। नभन्दै, उनले ०५६ बाट राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनमा प्रवेश गरेर राजनीतिको बाटो लम्किन्। जनमोर्चामा काम गरेको तीन वर्षपछि एकता केन्द्र मसालको सदस्यता लिइन्। ०६३ मा जनमोर्चाको कन्चनपुरको जिल्ला सदस्य हुँदै एक वर्षपछि अनेरास्ववियु छैठौंको जिल्ला अध्यक्ष बनिन्।
संसदीय पार्टतिर भने जनमोर्चाबाटै ०६४ को संविधान सभा सदस्यमा समानुपातिक उम्मेदवार भएकी उनी ०६७ सालमा दुई पार्टी एकीकरण भएपछि उनी माओवादी बनिन्।
०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट मालिकार्जुन गाउँपालिकाको उपाध्यक्ष लडेकी उनी त्यही साल भएको संसदीय चुनावमा पनि संघीय सांसदको उम्मेदवार बनिन्। अहिले उनी माओवादीको केन्द्रीय सदस्य छिन्।
OOO
गएको संसदीय चुनावबाट सांसद चुनिएपछि गत जेठ २८ मा विना विभागीय मन्त्रीको सपथ लिइन् लक्ष्मीले। त्यसपछि संघमा कांग्रेस-एमाले गठबन्धन बनेपछि दुई महिनामात्र मन्त्री बन्न पाएकी उनले त्यही बीचमा शिक्षा तथा खेलकुद र आन्तरिक मामिला तथा कानुन मन्त्रालयकोसमेत जिम्मेवारी सम्हाल्ने मौका पाइन्। जम्मा दुई महिनामात्र मन्त्रालयमा रहने मौका पाएकी उनले कर्मचारीतन्त्रबाट निकै असहयोग भएको महसुस गरेको सुनाइन्।
लक्ष्मी मन्त्री भएर जानुअघि दलित शशक्तिकरण समिति गठन गर्न बाँकी थियो। त्यो समिति मन्त्रालयको मातहत हुने र मन्त्री नै त्यसको अध्यक्ष हुने प्रावधान छ। यदि त्यो समिति बनेको खण्डमा प्रदेश अन्तर्गतका निकायमा दलित समुदायको सुनिश्चितता हुने लक्ष्मीले सुनाइन्। त्यसैको कारण पनि उनले सकेसम्म त्यस समितिलाई गठन गर्न जोड गरिन्। तर, मन्त्रालयका सचिवले असहयोग गरिदिँदा त्यो अघि बढ्न सकेन।
दलित समुदायका दुख, पीर मर्का, अभावहरू सुनेर, देखेर, भोगेर आएकी लक्ष्मीले आफ्नो समुदायको निम्ति विशेष कार्यक्रमहरू नल्याउने त कुरै भएन।
तर, लक्ष्मीकै शब्दमा भन्दा, 'योजना थिए नि- ८८ वटै पालिकामा दलितहरूमाथि हुने विभेदविरुद्व जनचेतनाका कार्यक्रम लिएर जाने, रोजगारीका लागि भारत जानेहरूलाई विशेष प्याकेज ल्याउने, आरन, सिलाइकटाईको पेसालाई आधुनिकीकरण गरेर युवा पंक्तिलाई त्यतातिर आकर्षण गर्ने, दलितलाई शिक्षाको पहुँचमा ल्याउन छात्रवृत्ति दिने लगायतका कार्यक्रमको योजना अघि सारेको थिएँ। तर, जम्मा दुई महिनामा कति पो गर्न सकियो र?'
हुन पनि उनले सुरुवात भने गर्न कोसिस गरेको दाबी गरिन्। आफ्नो पहिलो निर्णय बादी समुदायको लागि १ करोड ९२ लाखको छात्रवृत्ति जुन लामो समयदेखि रोकिएर बसेको थियो, त्यसलाई उनले निकास गरिदिइन्।
'राज्यले दलित, महिला लगायतका उत्पीडितलाई माछा मारेर दिने हैन, माछा मार्ने तरिका तरिका सिकाइदिने हो। त्यसपछि जीवनभरि उनीहरू आफैं माछा मारेर जीविकोपार्जन गर्न सक्छन्, मैले यही गर्दै थिए', उनले सुनाइन्।
OOO
त्यसो त सुदूरपश्चिममा माओवादीको तर्फबाट पहिलो दलित मन्त्री हुन् लक्ष्मी। मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले लक्ष्मीसँगै हिरा सार्कीलाई पनि मन्त्री नियुक्त गरेर सुदूरपश्चिमको इतिहासमा एकैपटक दुईजना मन्त्री नियुक्त गरेर इतिहास बनाएका थिए। तर, एकपटक त्यस्तो भएपनि पटकपटक दलित, महिलाहरू मन्त्रिपरिषद्मा जान नपाउने परिस्थिति सुदूरपश्चिममा ज्युँ का त्यूँ छ।
यसको कारण के त? फेरि पनि लक्ष्मीकै शब्दमा, 'दलित र महिला भनेका अपाङ्ग हुन् भन्ने दलका नेताहरूको मानसिकता छ। यिनीहरूले गर्न सक्दैनन्, यी क्षमताहीन हुन् भन्ने मानसिकता। सबैभन्दा डरलाग्दो चैँ यिनीहरूलाई मन्त्री बनाएपछि नमस्कार गर्नुपर्छ भन्ने चिन्तन नै मूख्य कारण हो। हिजो हाम्रा पुर्खाले यिनीहरूलाई हलिया, खलिया, डुलिया बनाए अब आज यिनीहरू हाम्रा पार्टीका हलिया, खलिया, डुलिया हुन् भन्ने सोच छ नेताहरूको, समस्या यही हो।'
त्यसको पछिल्लो उदाहरण दिँदै उनले आफूलाई पार्टीले राज्यमन्त्री बन्न अफर गरेको सम्झिइन्।
'मलाई पनि पैला राज्यमन्त्री खाउ भनेका थिए, मैले त उल्टै क्षेत्री-ब्राम्हणले चैं राज्यमन्त्री बन्दा के हुन्छ, खाली दलित मात्र राज्यमन्त्री बन्नुपर्छ र भन्दै त्यो अफर फिर्ता गरिदिएँ', उनले भनिन्।
गएको चुनावको दौरानमा पनि माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भएको कार्यक्रममा निर्माण व्यवसायी संघको सदस्य भन्दा पछि आशनग्रहण गराएको अनि उम्मेदवार भएपनि आफूलाई बोल्न नदिएको सम्झिँदा पनि लक्ष्मीलाई आफूमाथि विभेद भएको भन्ने लाग्छ।
OOO
'मैले मन्त्री पदभार ग्रहण गर्दैगर्दा क्षेत्री-ब्राह्मण मन्त्री भएको ठाउँमा दुनियाँ भरको मिडिया आए, तर मेरो छेउमा आएनन्,' तीतो अनुभव सुनाउँदै लक्ष्मीले भनिन्, 'बोलाउँदासम्म पनि आएनन् मिडियाकर्मीहरू।'
मिडियामा पनि जातव्यबस्था हाबी भएको रहेछ भन्ने उनले आफ्नो मन्त्रीकालमा महसुस गरेको सुनाइन्। महिला, दलितहरू मन्त्री भएर जतिसुकै राम्रो काम गरे पनि त्यसको प्रचार गर्न नगरिदिने तर, अलि कतिमात्र पनि भूल भयो भने त्यसलाई खेदो खन्ने गरेको र यसको पछाडिको कारण मिडियाकर्मीहरूमा पनि उच्च जातीय अहंकार कारक रहेको उनको बुझाई छ।
एउटा उदाहरण: राष्ट्रिय सभाको निर्वाचनको दिन चलिरहेको थियो। त्यसबेला प्रदेश सभामा माओवादीकी गीता माल राज्यमन्त्री थिइन्। निर्वाचन आयुक्तले एउटा विवरण सच्याउनुपर्ने भएर ५ बजेपछि हतारहतार गरेर आउनु भनेपछि घरमा भएकी गीता हतारहतार गरेरै निर्वाचन आयुक्तको कार्यालय पुगिन्। त्यसबेला उनी सामान्य पाइन्ट र टिसर्ट लगाएर त्यहाँ पुगेकी थिइन्।
तर, त्यसैबेला मिडियाकर्मीहरूले फोटो खिचेर अनावश्यक प्रचार गरिदिएको लक्ष्मीले सुनाइन्। त्यसमा पनि 'राज्यमन्त्री गीता मालका चाल' भनेर शीर्षक नै राखिदिएको उनले सम्झिन्। त्यहीं ठाउँमा अन्य समुदायको मन्त्री हुँदा कसैलाई वास्ता नहुने तर, दलित वा महिलालाई भने सकेसम्म खेदो खन्ने गरेको उनको बुझाई छ।
'मेरै अनुभवमा भन्नुपर्दा मिडियाका क्यामेराहरू महिला र दलितका अघिल्तिर कहिल्यै तेर्सिन्नन्', उनले भनिन्।
त्यतिमात्र हैन, प्रदेश सभाको दोस्रो निर्वाचनपछि सुदूरपश्चिममा चार जना मुख्यमन्त्री बनिसके। पहिलो पटक कांग्रेसका कमल बहादुर शाहको नेतृत्वमा सरकार बन्दा महिला र दलितलाई मन्त्रिपरिषद्मा निषेध नै गरियो। यो त अत्ति भयो भन्ने लागेर लक्ष्मीले आवाज उठाइन्। उनले सार्वजनिक रूपमा सञ्चारमाध्यमबाट बोल्ने सोचेर यो विषयमा कुरा उठाउन भन्दै केही मिडियाकर्मीहरूलाई आग्रह पनि गरिन्। तर, उनीहरूले सशक्त रूपमा यसलाई उठान नगरिदिएको लक्ष्मीको दाबी छ।
उल्टै जवाफमा सञ्चारकर्मीहरूले भने, 'यो कुरा त तपाईंले दलभित्र पो उठाउनुपर्ने, कहाँ न्युज लेखेर साध्य लाग्छ र?', लक्ष्मीले सम्झिन्।
असोज ११, २०८१ शुक्रबार २२:०२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।