खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित

खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित
फाइल

काठमाडौं : मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका 
छन्। 

विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा मात्रै उडान भइरहेका छन्। 

भद्रपुर, सिमरा, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा आज कुनै पनि उडान नभएका बताउँदै विराटनगरतर्फ दिउँसो ३ बजेदेखि नियमित उडान भइरहेका उनले बताए। 

अन्तर्राष्ट्रियतर्फ पनि दुई विमान करिब एक घण्टा ‘होल्ड’मा परेर अवतरण गरे। 

भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइरहेको इण्डिको एयरलाइन्सको विमान र थाइल्याण्डको बैंककबाट आएको थाई एयर होल्डमा परेका बताउँदै अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ढिलाइ (डिले) भएका हुन्। अन्तर्राट्रिय उडान भने अहिले नियमित भइरहेका छन्।
 
लगातारको वर्षाले भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित भएको हो। काठमाडौँ विमानस्थलमा ‘इन्ट्रमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) उडान मात्रै भइरहेका प्रवक्ता शेर्पाले बताए। 

मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएका एयरलाइन्सले जनाएका छन्।

देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै भारतको उत्तरमध्य महाराष्ट्र तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले मौसममा बदली हुनुका साथै वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

असोज १०, २०८१ शुक्रबार १७:१७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।