नेपालमा खपत हुने ९० प्रतिशत स्याउ विदेशबाट आयात

नेपालमा खपत हुने ९० प्रतिशत स्याउ विदेशबाट आयात

काठमाडौं : नेपालमा १५ भेराइटी(प्रकार)का स्याउ उत्पादन हुने गरेको पाइएको छ।

स्याउ व्यवसायीहरूका अनुसार नेपालमा चार/पाँच किसिमका स्याउ मात्र उत्पादन हुने गरेको बताइए पनि हाल १५ प्रकारका उत्पादन भइरहेको हो।

कर्णालीका हुम्ला, जुम्ला लगायत, मनाङ, मुस्ताङ, बाजुरा, जाजरकोटमा स्याउ उत्पादन बढी हुने गरेको छ।

किसान भेन्चरका प्रमुख राजेश कार्कीका अनुसार नेपालमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस, ग्रान्नी स्मिथ, म्याकेन्ट्स, जोनाथन, फुजी, भान्स डेलिसियस, रेड गोल्ड, रेड चिफ, रेड स्पर, वेल स्पर जातका स्याउ उत्पादन हुन्छन्।

‘मध्यम चिसोमा क्रिस्पिन, रेड जुन, कक्स अरेन्ज पिपिन, किङ अफ पिपिन जातका स्याउन उत्पादन हुन्छ। कम चिसोमा अन्ना, भेरिड, ट्रपिकल ब्युटी जातका स्याउ उत्पादन भइरहेको छ।

तर, चारपाँच किसिमका मात्र उत्पादन हुने भनेर प्रचार गरिनु दुखद हो,’ प्रमुख कार्कीले भने।

नेपालकै उत्पादनले बजार धान्न सक्ने भए पनि सरकारले त्यसलाई महत्व नदिएको उनको बुझाइ छ। नेपाली बजारमा स्वदेशी उत्पादन पुग्न नसकेको उनले बताए। जुम्लाका किसान रामसिंह रावलका अनुसार सरकारले स्याउलाई प्राथमिकता नदिएको र कोल्ड स्टोर निर्माणमा ध्यान दिन सकेको छैन।

‘चाडपर्वको समयमा हामीले नेपाली स्याउलाई काठमाडौंलगायत देशका मुख्य शहरमा पुर्याउने गरेको भए पनि धुवानीका कारण व्यवसायी मारमा पर्ने गरेका छन्। हुम्लामा २० रुपैयाँ किलोमा पाइने स्याउ काठमाडौं पुर्याउन मात्र ८० रुपैंयाँ खर्च गर्नुपरेको छ। हुम्लाको अवस्था पनि उस्तै छ’, रावलले भने।

धुवानीको अभावमा सयौं किलो स्याउ कुहिने गरेको र गाइबस्तुले पनि नखाने गरेको उनले बताए। नेपाली बजारमा प्रतिदिन दुई करोड ३० लाख रुपैयाँभन्दा बढीको स्याउ बिक्री भइरहेको छ। नेपालमा स्याउ पर्याप्त उत्पादन भए पनि ९० प्रतिशत चीन र भारतबाट आयात भइरहेको पाइएको छ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा एक अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको स्याउ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

असोज १०, २०८१ शुक्रबार १४:०२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।