हलमा दुई नेपाली फिल्म ‘सानो संसार’ र ‘आँखा’

हलमा दुई नेपाली फिल्म ‘सानो संसार’ र ‘आँखा’

काठमाडौं : शुक्रबारदेखि दुई नेपाली फिल्म ‘सानो संसार’ र ‘आँखा’ प्रदर्शनमा आएका छन्। फरक-फरक कथामा बनेका यी दुई फिल्म देशभर एकसाथ रिलिज भएका हुन्।

अर्जुन कुमारले निर्माण गरेको ‘सानो संसार’ले एउटा मध्यम वर्गीय परिवारले आर्थिक समस्याका कारण भोग्नुपरेको अभाव, कठिनाइ र सङ्घर्ष मर्मस्पर्शी रूपमा उठाएको छ। फिल्मको बुधबार साँझ प्रिमियर समेत भएको थियो।

सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), अनु दाहाल, राज पङ्गेनी शर्मा, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ।

निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो। ‘सानो संसार’को कार्यकारी निर्मातामा माधव वाग्ले हुन्। राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ।

उता स्मिता लामिछानेको निर्माण रहेको फिल्म ‘आँखा’मा सुकुम्वासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौँ महानगरबिचको रस्साकस्सी देखाइएको छ।

जौन योन्जन निर्देशित फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बरालको अभिनय छ। फिल्ममा बालकलाकारको भूमिकामा प्रसन राई छन्।

नारायणप्रसाद बराल कार्यकारी निर्माता रहेको फिल्म कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ।

असोज १०, २०८१ शुक्रबार ११:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।