विद्युतीय सवारीमा झ्याम्मिए यातायात व्यवसायी, तर छैनन् ढुक्क

विद्युतीय सवारीमा झ्याम्मिए यातायात व्यवसायी, तर छैनन् ढुक्क

बुटवल : स्याङजाका दिपक शाही मिमी-काठमाडौं रात्रि बस चलाउँथे। लामो समय यातायातको क्षेत्रमा बिताएका उनले एक वर्षअघि आफ्नै लगानीमा इलेक्ट्रोनिक गाडी(ईभी) खरिद गरे। उक्त ईभी अहिले बुटवल-पोखरा चलाउँछन्।

सिद्धबाबा यातायात प्रालिमा दर्ता भएको उनको ईभी बुटवलबाट पोखरा जाँदा कम्पनीले नै रामखोलाा राखेको चार्जरमा एक पटक चार्ज गर्छन्। त्यही चार्जले उनी पोखरा पुग्छन्। ईभीको सञ्चालन खर्च एकदमै कम रहेको उनले अुनभव गरेका छन्।

उनी भन्छन्, ‘पहिले डिजेलको चलाउँदा बढी खर्च निस्कन्थ्यो। ईभी भएपछि खर्च कम छ।’

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि विद्युतीय सवारी सञ्चालनमा शाही जस्ता व्यवसायीको आकर्षण बढेको छ। व्यवसायीले मुख्यत आफ्नो फाइदा हेर्ने हेर्छन्, पेट्रोलियम पदार्थको भन्दा निकै कम खर्च लाग्ने भएपछि उनीहरू यसमा झ्याम्मिएका छन्।

स्याङ्जाको वालिङस्थित शिद्धबाबा यातायात प्रालिमा १८ वटा र बुटवलमा प्रधान कार्यालय रहेको देशकै धेरै गाडी आबद्ध पश्चिम नेपाल बस व्यवसायी प्रालिमा अहिले एक सय वटा ईभी गाडी दर्ता भएर सञ्चालनमा छन्।

पछिल्लो आठ महिनामा ईभीमा व्यवसायीको आकर्षण ह्वात्तै बढेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष जीवन कुमार बञ्जाडे बताउँछन्। कम्पनीमा दर्ता भएका ईभी अहिले बुटवलबाट अर्घाखाँची, रामपुर, पोखरा, नारायणगढ, दाङ, प्युठानसम्म पुग्ने गरेका छन्।

ईभी भित्र्याउन समस्या नभए पनि नेपालको सडकको अवस्था र पर्याप्त चार्जिङ स्टेशन नहुँदा व्यवसायी अझै ढुक्कले लगानी गर्नसक्ने अवस्था नभएको अध्यक्ष बञ्जाडे बताउँछन्।

‘सिधा गन्तव्यमा पुग्ने स्थानमा व्यवसायीहरूले ईभी सवारीमा लगानी बढाएका छन्,’ उनी भन्छन्, ‘तर सडकको अवस्था र प्रयाप्त चार्जिङ स्टेशन नहुँदा लामो दुरीमा ईभी गाडी चलाउने अवस्था अझै बनिसकेको छैन।’

बुटवल-नारायणगढकै सडकको अवस्था हेरेर पनि व्यवसायीहरूले काठमाडौंसम्म ईभी सञ्चालन गर्ने आँट गरेका छैनन्। अहिले सिद्धबाबा र पश्चिम नेपाल यातायात प्रालिले ८ देखि १६ सिट क्षमताका ईभी सवारी सञ्चालन गरेका छन्।

सिद्धबाबा र पश्चिम नेपाल मात्र नभएर अर्घाखाँचीको लंका यातायात प्रालिले तीन महिनाअघि देखि १५ वटा ईभी सञ्चालनमा ल्याएको छ। सदरमुकाम सन्धिखर्कदेखि बुटवलसम्म ईभी सञ्चालनमा छन्। यो रुटमा काम गर्दा व्यवसायीहरू पनि सन्तुष्ट रहेको प्रालिका अध्यक्ष कृष्ण भुसाल बताउँछन्।

तर, गुल्मीको अवस्था भने फरक छ। गत बैशाखमा गुल्मी यातायात प्रालिले ३५ वटा ईभी सवारी भित्र्याउने निर्णय गरेर आवेदन खुला गरे पनि जम्मा दुई वटा मात्र दर्ता हुन आएका थिए। यसको मुख्य कारण सडकको अवस्था रहेको प्रालिका अध्यक्ष रूपक श्रेष्ठ बताउँछन्।

‘रिडिबाट तम्घास आउने सडक निर्माणाधीन छ। पश्चिमतर्फ खोला तर्नुपर्छ। रिडि-बुर्तिवाङ जाँदा पनि खोला तर्नुपर्ने भएकाले व्यवसायीहरू अझै ‘पर्ख र हेर’को अवस्थामा छन्’, उनी भन्छन्।

अहिले भएका दुई ईभी बुटवलदेखि बुर्तिवाङ चल्ने गरेका छन्। दशैंपछि यो रुटमा अरु सवारी थप हुने अध्यक्ष श्रेष्ठको भनाइ छ।

‘सडक सुधारपछि अझै बढ्छ’
अहिले बुटवल-नारायणगढ सडक निर्माणधीन अवस्थामा छ। बुटवल-चन्द्रौटा सडक पनि चाडबाडपछि विस्तार हुनेछ। यी सडकहरू विस्तार र स्तरोन्नत्ति भएपछि ईभीमा व्यवसायीको लगानी अझै बढ्ने सिद्धार्थ सार्वजनिक यातायात प्रालिका कार्यालय प्रमुख कमलप्रसाद भुसालको भनाइ छ।

‘सडक पूर्ण रूपमा निर्माण सकिएपछि ईभी सञ्चालन गर्ने भनि कुरिरहेका छौँ। सडक निर्माण सम्पन्न भएपछि बुटवल-नारायणगढ चल्ने कुल सवारी मध्ये ६० प्रतिशत भन्दा बढी ईभी हुनेछन्’, उनी भन्छन्।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष बञ्जाडेले पनि भुसालकै भनाइमा हो मा हो मिलाए।

‘अहिले बुटवलबाट नारायणगढ ईभी पठाउँदा कुन अवस्थामा फर्कन्छ भन्ने नै ढुक्क छैन। सडक राम्रो भयो भने धेरै व्यवसायीहरू यसतर्फ लाग्ने निश्चित छ’, उनी थप्छन्।

विद्युतीय गाडीले वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदूषणमा कमी ल्याउँछ। यसले वायु र वातावरण प्रदूषण रोक्न मद्दत पुग्ने भएकाले सरकारले प्रोत्साहित गर्नुपर्नेमा व्यवसायीहरूको जोड छ।

ईभी सवारी खरिद गर्नेहरूका लागि सरकारले सहुलियपूर्ण क्रृणको व्यवस्था गरिदिने हो भने डिजेल-पेट्रोलको आयातलाई कम गरेर विद्युत् खपतलाई पनि बढाउन सकिने गुल्मी यातायात प्रालिका अध्यक्ष श्रेष्ठको मत छ।

आयात बढ्दो
रुपन्देहीको बेलाहिया नाकाबाट ईभी भित्रने क्रम वर्षेनी बढ्दो छ। आर्थिक वर्ष ०७९/०८० मा दुई हजार २७० ईभी आयात भएकोमा आर्थिक वर्ष ०८०/८१ मा दुई हजार ९२२ वटा ईभी भित्रिएका छन्।

यस्तै चालु आर्थिक वर्षको साउनमा मात्र १५१ वटा ईभी भैरहवा भन्सारबाट भित्रिसकेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले जानकारी दिए।

चार्जिङ स्टेशनबाट दुई महिनामा १३ लाख आम्दानी
ईभी आयातसँगै चार्जिङ स्टेशनको संख्या बढाउनुपर्नेमा व्यवसायीहरुले जोड दिइरहेका छन्। यसै क्रममा दुई महिनादेखि निरन्तर चालु अवस्थामा रहेको रुपन्देहीको बुटवल उपमहानगरपालिका-८ धर्मपथमा रहेको ईन्द्रणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको ईभीबाट १३ लाख ३४ हजार आम्दानी गरिसकेको छ।

तीन वटा मेसिन जडान गरिएको यहाँ एकै पटक छ वटा सवारी चार्ज गर्न सकिन्छ। । चार्जिङ स्टेशनमा सिसिएसटू डबल गन्स ६० किलोवाटको १ मेसिन र जिविटी डबल गन्स ६० किलोवाटका २ वटा मेसिन जडान भएका छन्। एउटा गाडी ३० मिनेट देखि १ घण्टामै फुल चार्ज हुने सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालको दाबी छ।

दैनिक ५०-६० गाडी चार्जका लागि आउने गरेका छन्। अनलाइन माध्यमबाट रकम भुक्तानीको व्यवस्था गरिएको अध्यक्ष अर्याल बताउँछन्।

असोज १०, २०८१ शुक्रबार ११:३१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।