हिजबुल्लाहविरुद्ध पूर्ण शक्तिका साथ लड्न सेनालाई नेतान्याहुकाे निर्देशन

हिजबुल्लाहविरुद्ध पूर्ण शक्तिका साथ लड्न सेनालाई नेतान्याहुकाे निर्देशन

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सेनालाई हिजबुल्लाहविरुद्ध पूर्ण शक्तिका साथ आक्रमण गर्न निर्देशन दिएका छन्।

अमेरिका, बेलायत र इयू लगायतका देशले युद्धविरामको प्रस्ताव गरेको भोलिपल्टै इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्नाे सेनालाई यस्तो निर्देशन दिएका हुन्।

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ९२ जनाको ज्यान गएको जनाएको छ।

लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एउटा भवनमा भएको हवाई हमलामा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरूर मारिएको पनि हिजबुल्लाहले जनाएको छ।

बुधबार अमेरिका, बेलायत र युरोपेली संघले तीन साताका लागि युद्धविरामको प्रस्ताव गरेका थिए। तर, बिहीबार इजरायलले यो प्रस्ताव स्वीकार गर्न अस्वीकार गरेको थियो।

न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म नरोकिने बताएका हुन्।

गत वर्ष अक्टोबरमा हमासको आक्रमणका कारण देशको उत्तरी भागबाट विस्थापित भएका नागरिकहरूको सुरक्षित फिर्ता ल्याउनु आफ्नो लक्ष्य भएको उनले बताए।

असोज १०, २०८१ शुक्रबार ०८:५०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।