विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री

न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दै ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ साढे पाँच बजे महासभामा सम्बोधन गरेका हुन्।

उनले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे।

सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराए।

‘दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रुपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध छ’, प्रधानमन्त्री ओलीले भने।

‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ आफूहरूले विदेश नीति सञ्चालन गरिरहेको भन्दै उनले पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एक-अर्काको आन्तरिक मामिलामा हस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध रहेको बताए।

इजरायल-प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबीचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए।

प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताए।

उनले विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग गरे।

असोज १०, २०८१ शुक्रबार ०७:४४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।