सिमान्तकृत मेचे समुदायको संस्कृति समेटिएको ‘माखाल’ उपन्यासको लोकार्पण

सिमान्तकृत मेचे समुदायको संस्कृति समेटिएको ‘माखाल’ उपन्यासको लोकार्पण

काठमाडौं : सिमान्तकृत मेचे समुदायको संस्कृति र राजनीतिक जागरणलाई विषयवस्तु बनाइएको उपन्यास ‘माखाल’ लोकार्पण गरिएको छ।

तेजप्रकाश श्रेष्ठद्वारा लिखित र परिचय पब्लिकेसनद्वारा प्रकाशित उपन्यासमा मेचे समुदायले स्वनियमका लागि कायम राखेको माखाल अर्थात् आफ्नो समुदायको मुखिया छान्ने व्यवस्था र मेचे समुदायमा ४० को दशकको सुरूमा आएको राजनीतिक जागरणलाई समेटिएको छ। 

आज राजधानीमा भएको पुस्तक लोकार्पण समारोहमा मेचे समुदायको तर्फबाट बोल्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयकी सहसचिव रोशनी मेचेले आफ्नो समुदायका सांस्कृतिक पाटोको अनुसन्धान गरी तयार पारिएको उपन्यास आफैँमा अनुसन्धानात्मक कृतिसमेत हुने बताइन्। 

'मेचे समुदायमा माखाल प्रणालीले कसरी काम गर्थ्यो भनी बुझ्न चाहनेहरूका लागि उपन्यास एउटा रोचक पुस्तक बनेको छ, उनले भनिन्। 

त्यसैगरी समीक्षक ठाकुर शर्मा मेचे जातिको सांस्कृतिक पाटोलाई उक्त समुदायकै भाषाका शब्दहरूसमेत राखेर तर सरल अनि सहज तरिकाबाट तयार पारिएको उपन्यास नवीनतम् सांस्कृतिक उपन्यास बनेको दाबी गरे। 

पुस्तकका लेखक तेजप्रकाश श्रेष्ठले २०६४ सालमा मेचे समुदायसँग ३ महिना भन्दा बढी समय बिताएर त्यस समुदायका अगुवाहरूसँग कुराकानी गरेका आधारमा सृजनात्मक लेखन गरी माखाल उपन्यास तयार गरेको बताए।  

असोज ९, २०८१ बिहीबार २०:५२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।