'चंगा र लट्टाइमा झुम्मिने केटाकेटी मोबाइल र ल्यापटपमा लहसिएपछि असनमा घट्यो चंगाको व्यापार'

'चंगा र लट्टाइमा झुम्मिने केटाकेटी मोबाइल र ल्यापटपमा लहसिएपछि असनमा घट्यो चंगाको व्यापार'

काठमाडौं : दशैं तिहारको मौसम चंगा चेटका लागि उपयुक्त मानिन्छ। दशैं तिहारको मौसममा चंगा उडाउनुको मज्जा नै बेग्लै हुन्छ। आकाशमा रंगीबिरंगी चंगा उडेको देखेपछि सबैले दशैं आउँदै छ भन्ने महसुस गर्छन्। 

तर, विगतमा भन्दा यो वर्ष चंगाको व्यापार अस्वाभाविक रूपमा बढेको व्यवसायी बताउँछन्। व्यापारीहरूलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ। बिहानदेखि साँझसम्म उपत्यकाका हरेक चंगा पसलमा ग्राहकको भीड देखिन्छ। 

यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ। दशैंको पूर्वसन्ध्यामा नै ललितपुरको पाटन, मंगलबजारका व्यापारीहरूलाई चंगा बेच्न भ्याइनभ्याइ भइरहेको छ। विगत ४० वर्षदेखि चंगाको व्यापार गर्दै आइरहेकी गंगा लक्ष्मी पनि कोरोनाको समयमा व्यापार घटे पनि यो वर्ष राम्रै व्यापार भइरहेको बताइन्।

दशैंको समयमा धेरै चंगा व्यापार हुने भएकाले उनको पुरै परिवार नै दिनभर चंगाको व्यापार गर्न सक्रिय छन्। गंगा लक्ष्मी दशैंको समयमा चंगा बेचेरै आठदेखि नौ लाख रुपैयाँ कमाउने गरेको सुनाउँछिन्। 

उनले  भनिन्, ‘व्यापार गर्न थालेको ३०-४० वर्ष  भइसक्यो। पहिला भन्दा अहिले व्यापार गर्न सजिलो पनि छ। पसलहरू धेरै खुलेपनि चंगाहरू होलसेलमा भारतबाट ल्याउँदा राम्रै आम्दानी हुन्छ। भीडभाड बढी हुने भएकाले छोरा, श्रीमान र नन्द मिलेर व्यापार गर्छौं।’

यस्तै, पाटनका अर्का व्यापारी किशोर देउलाले पनि यो वर्ष चंगाहरूको राम्रो व्यापार भइरहेको बताए। पहिला भन्दा अहिले चंगा व्यापारले राम्रो फट्को मारेको उनको दाबी छ। 

उनी चंगा कतिपय आफैं बनाउने र कतिपय भारतबाट ल्याउने गरेको बताउँछन्। चंगा उडाउनका लागि धागो उनी आफैं निर्माण गर्छन्। 

उनले  भने, ‘पहिला टिपीकल नेवारहरू मात्र चंगा उडाउने गर्थे भने अहिले गैर नेवारहरूले पनि चंगा उडाउन थालेकाले व्यापार राम्रो हुँदै गएको छ। राजधानीमा मात्र नभएर यो भन्दा बाहिर पनि चंगाको डिमाण्ड बढेको छ। कतिपय चंगा आफैं निर्माण गर्छौं भने कतिपय भारतबाट ल्याएर बेच्ने गर्छौँ।’

व्यापारी देउलाले सामाजिक सञ्जालले पनि व्यवसायमा सहजता प्रदान गरिरहेको बताए। उनले फेसबुक, टिकटक र अन्य सामाजिक सञ्जालमा विज्ञापन गरिरहँदा चंगा राम्रो आम्दानीको स्रोत बन्न सकेको बताए।  

चंगाको मूल्य पनि पाँच रुपैयाँबाट सुरू भएर सबैभन्दा महंगो कपडाको पाँच सय रूपैयाँसम्म रहेको बताए। स्वदेशी सामान सस्तो समेत भएकाले चंगा बनाउन सहज भएको उनको भनाइ छ। 

अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीचंगी प्लास्टिकका चंगाले स्थान ओगटेको छ। चंगा उडाउने पारखीलाई डाइमन्ड, टाइगर, पान्डा, फाइभ, टिपु सुल्तान, १२ तार, १६ तार र माकालका धागो प्रयोग गर्नुपर्ने व्यापारीहरूको भनाइ छ। 

तर, पाटन, मंगलबजारका व्यापारीहरू जति खुशी छन् काठमाडौं असन क्षेत्रका चंगा व्यापारी सुरेश सुचियाल भने निराश देखिन्छन्। दशैंका बेला पनि चंगाको व्यापार गरेर पैसा कमाउन नसकेको उनी सुनाउँछन्। 

उनले चंगा र लट्टाइमा झुम्मिने केटाकेटी मोबाइल र ल्यापटपमा लहसिएका कारण चंगा व्यापार राम्रोसँग हुन नसकेको बताए। चंगासँगै आकाशमा उड्नुको साटो इन्टरनेटमा संसार डुल्न थालेको उनको भनाई छ। 

सुरेश चंगा बेच्ने मात्र होइन, आफैं बनाउँछन्। तर, चंगा अघिल्लो वर्ष राम्रो विक्री भए पनि यस वर्ष व्यापार घटेको उनको भनाइ छ। 

उनले भने, ‘अहिले चंगाको व्यापार धेरै राम्रो छैन। पोहोर साल भन्दा यो साल कम व्यापार भएको छ। ग्राहकहरूको संख्या त्यति बाक्लो छैन। सबै जना विदेश गइरहेका छन्। केटाकेटी मोबाइल र ल्यापटपमा लहसिएका छन्  चंगासँगै आकाशमा उड्नुको साटो इन्टरनेटमा संसार डुल्न थालेका छन्।’ 

काठमाडौंका असन, इन्द्रचोक क्षेत्रका चंगा पसलहरूमा तुलनात्मक रुपमा ग्राहकहरूको संख्या न्यून नै देखिन्छ। 

असोज ९, २०८१ बिहीबार १९:२०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।