घुस लिँदालिँदै पक्राउ परेका झापाका वडाअध्यक्ष ओली निलम्बित
झापा : सेवाग्राहीसँग घुस लिँदा लिँदै रङ्गेहात पक्राउ परेका बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओली (गोपाल) निलम्बित भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै ओलीलाई निलम्बन गरिएको हो।
वडा अध्यक्ष ओलीले भारतीय नागरिक अमरनाथ चौहानसँग ८० हजार घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका थिए।
घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ को उपदफा ४ बमोजिम विशेष अदालत काठमाडौँबाट म्याद थप भई आएको र थुनामा रहेका ओलीलाई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्बनमा रहने कानुनी प्रावधान रहेकाले वडा अध्यक्ष ओलीलाई निलम्बन गरिएको बताइएको छ
असोज १०, २०८१ बिहीबार १८:१७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।